खानेतेलको मूल्य अस्वभाविक राख्ने उद्योगमाथि कारबाही सुरू, अन्नपूर्ण र महालक्ष्मी परे फन्दामा

बिजमाण्डू
२०७७ माघ ७ गते १२:२५ | Jan 20, 2021
खानेतेलको मूल्य अस्वभाविक राख्ने उद्योगमाथि कारबाही सुरू, अन्नपूर्ण र महालक्ष्मी परे फन्दामा

Tata
GBIME
Nepal Life

काठमाडौं।  सरकारले अस्वभाविक मूल्य राखेर खानेतेल बिक्री गर्ने उद्योगलाई कारवाही गर्न थालेको छ। तीन महिनाको अवधिमा खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म बढेपछि सरकारले कारवाही थालेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्नपूर्ण भेजिटेबल र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरीलाई बढी मूल्यमा बिक्री गरेको भन्दै कारवाही गरेको हो। अन्नपूर्ण नेपालको पुरानो व्यवसायिक घराना त्रिवेणी ग्रु्प अन्तर्गतको कम्पनी हो।

पुरानो घराना भए पनि सस्तोमा कच्चा पदार्थ ल्याएर अस्वभाविक नाफा कमाउने उद्देश्यले बढी मूल्य राखेर बिक्री गरेको पाइएको हो। विभागले कच्चा पदार्थ खरिद गरेको प्रज्ञापनपत्र हेर्दा तत्कालै मुनाफाका लागि बढी मूल्य राखेको भेटिएको हो। 'पुरानो व्यवसायिक घराना त्रिवेणीले तत्कालै नाफा खोज्न बढी मूल्य राखेको भेटियो। उद्योगीले नाफा खोज्नु स्वभाविक हो। तर अस्वभाविक नाफा राखेर उपभोक्ता ठग्ने नियत राखेको देखियो,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

यो उद्योगले अमृत ब्राण्डका खाने तेल बिक्री गर्दै आएको छ। महालक्ष्मी सोल्भेन्टले महालक्ष्मी ब्राण्डमा तेल बिक्री गर्दै आएको छ। विभागले ३/ ३ लाख रुपैयाँ जरिवाना गरेको छ। बजारमा दुवै नेपाली बजारमा निकै चलेका ब्राण्डमध्येका हुन्।

विभागले दुई महिनादेखि बजारमा खाद्य तेलको मूल्य बढ्न थालेपछि विभागले अनुसन्धान भइरहेको जनाउँदै आएको थियो। थोक र खुद्रा व्यवसायीहरुसँग छलफल गर्दा तेल मिलबाटै मूल्य बढेर आएको बताएका थिए। 

उद्योगीहरूले बाहिरबाट ल्याइने कच्चा पदार्थमै मूल्य बढेर आएको जिकिर गरेका थिए। विभागले तेल उद्योगहरुसँग कच्चा पदार्थ आयातमा परेको लागत हेर्न प्रज्ञापनपत्र मागेर पनि अध्ययन गरेको थियो। यस क्रममा आयातमा परेको लागत र उत्पादन खर्चसहितको हिसाबमा पनि बजारमा पठाएको मूल्य अस्वभाविक पाइएपछि दुई उद्योगलाई जरिवानाको कारबाही गरेको विभागले जनाएको छ।  दुवै उद्योगलाई  उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरेको विभागले जनाएको छ।

यस क्रममा विभागले १६ वटा तेल उद्योगका कागजात झिकाएको थियो। 'उद्योगले कति कति बढाए भन्ने जानकारी थप अध्ययनपछि बाहिर ल्याउँछौं,' विभागका प्रवक्ता शिवराज सेढाइले भने, 'उद्योगहरुले तेलको प्याकेटमा लागतभन्दा बढी मूल्य राखेको भेट्टाएका छौं। हालका लागि जरिवाना गरेको हो।'

उपभोक्तालाई मार पर्नेगरी लागत मूल्यभन्दा एक रुपैयाँ बढी लिए पनि कारबाही हुने उनले बताए। 'उद्योगहरुलाई अस्वभाविक रूपमा बढाएको मूल्यवृद्धि फिर्ता लिन निर्देशन पनि दिइएको छ,' उनले भने, 'विभागको निर्देशन नमान्ने उद्योगहरुलाई कारबाही हुन्छ।' 

तिहारपछि बजारमा खानेतेलको मूल्य लगातार बढ्न थालेको थियो। एक महिनामा मात्र भटमासको र सनफ्लावर तेलमा प्रतिलिटर ४० रुपैयाँसम्म भाउ बढेको थियो। हाल बजारमा तेलको मूल्य २१० रुपैयाँ देखि २२० रुपैयाँ प्रतिलिटरसम्म छ। यसअघि प्रतिलिटर १८० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो।

बजारमा तेलको मूल्यमा एकरूपता नभएको व्यवसायीहरुले पनि बताउदै आएका छन्। खानेतेलको मूल्य बढिरहदा केही व्यवसायीले पुरानो स्टकको तेल प्रतिलिटर १९० रुपैयाँमा बिक्री गरिरहेको पनि पाइएको थियो। उपभोक्ताले मूल्यवृद्धि अचाक्ली भयो भनेर गुनासो गरिरहँदा एकपटक बढेपछिको मूल्य बजारमा घटाइएको छैन।