विहारमा ट्रक एसोसिएसनको हड्ताल, नेपाली सामान बोकेका सयौँ कन्टेनर बीच बाटोमै अलपत्र

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ माघ ६ गते १९:५५ | Jan 19, 2021
विहारमा ट्रक एसोसिएसनको हड्ताल, नेपाली सामान बोकेका सयौँ कन्टेनर बीच बाटोमै अलपत्र

Tata
GBIME
Nepal Life

                          तस्बिर: शुभनारायण पाठक/जागरण

विराटनगर। भारतको विहार राज्यमा भइरहेको ढुवानीका साधनको हड्तालका कारण विराटनगर नाकामार्फत आयात हुने मालवस्तुका साधन बाटोमै रोकिएका छन्।

नेपाल–भारत बीचको पारवहन सम्झौताअनुसार भूपरिवेष्ठित नेपालका नाकासम्म मालवस्तु पुग्न भारतले बाटो निर्वाध उपलब्ध गराउनुपर्ने प्रावधानका विपरीत नेपाल भित्रने मालवस्तुका साधन बाटामै रोकिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार विहार ट्रक ओनर्स एसोसिएसनको आह्वानमा गत पुस २६ गतेदेखि विहारमा ढुवानीका साधनहरूको हड्ताल चलिरहेको छ।

विहारका ढुवानी व्यवसायीले आफूले पनि साधन नचलाउने र चलिरहेका साधनलाई पनि रोक्ने रणनीति अपनाएका छन्। यसका कारण नेपाल आयात भइरहेका मालवस्तु रोकिएका हुन्। विहार सरकारले १४ वटाभन्दा बढी चक्का भएका ढुवानीका साधन र डम्पर (टिपर)मा ढुंगा–गिट्टी–बालुवाको ढुवानी गर्न प्रतिबन्ध लगाएपछि विहारका ढुवानी व्यवसायी हड्तालमा उत्रिएका हुन्।

विराटनगर नाकाभन्दा १ सय ३६ किलोमिटर दक्षिणमा रहेको भारतीय शहर नौगछियामा रोकिएका ट्रकहरूको लाइन पाँच किलोमिटरको छ। त्यस लाइनमा विराटनगर नाका भित्रने सयौँ ट्रक र कन्टेनर पनि भएको मोरङका व्यवसायीले बताए। उद्योग संगठन मोरङका कार्यकारी सदस्य विपीन काबराले उनको उद्योग क्वालिटी आयलले आयात गरेको कच्चा तेल लोड गरिएका ४ वटा ट्यांकर र क्वालिटी थाई फूड (चाउचाउ उद्योग)को कच्चा पदार्थ लोड गरिएका २ वटा कन्टेनर गरी ६ वटा साधन रोकिएको जानकारी दिए।

विहारका हड्तालकर्मीहरूले विराटनगर नाका भित्रने साधनलाई मात्र नभएर नेपालमा मालवस्तु अनलोड गरेर फर्किरहेका खाली कन्टेनर, ट्रक र ट्याङ्कलरीलाई पनि रोकेका छन्। काबराको उद्योगमा मालवस्तु खाली गरेर भारत फर्किरहेका तेलका ट्याङ्कलरी र कन्टेनर गरी ७ वटा सवारी साधन बाटोमै रोकिएका छन्।

विराटनगरको आइसीपीमा मंगलबार आइपुगेका एक भारतीय ट्रक चालक पारस गुप्ताले भने, ‘हामीले नेपाल पुर्‍याउने मालवस्तु हो भनेर कन्भिन्स गर्‍यो भने हड्तालकर्मीले छाड्न पनि सक्छन् नभए रोक्छन्। धेरै जनालाई कन्भिन्स र अनुरोध गरेर म आज यहाँ आइपुगेको हुँ। हड्तालकर्मी निकै उग्र छन्।’ उद्योगी काबराका अनुसार अन्तर्राष्ट्रिय रूपमै कन्टेनर ढुवानीको भाडादरमा वृद्धि भएपछि सिपिङ कम्पनीहरूले ‘डिटेन्सन फ्री’को समय पनि साँघुरो बनाएका छन्।

‘पहिले मालवस्तु लोड गरिएका कन्टेनर कोलकाता बन्दरगाहबाट चलान भएका दिनदेखि खाली कन्टेनर कोलकाता बन्दरगाहसम्म पुग्ने समय १४ दिन तोकिएको थियो, अर्थात् १४ दिन डिटेन्सन फ्री समय थियो,’ काबराले भने, ‘अहिले डिटेन्सन फ्री समय घटाएर ७ दिन बनाइएको छ। अर्थात् निर्धारित ७ दिनभित्र खालि कन्टेनर कोलकाता पुगेनन् भने त्यसको डिटेन्सन शुल्क चर्को छ। आउँँदै गरेका भरिभराउ कन्टेनरमात्र नभई जाँदै गरेका खाली कन्टेनर पनि बाटामा रोकिएका कारण हामीले डिटेन्सनको राम्रै भार खप्नुपर्ने भएको छ।’

मोरङ व्यापार संघका उपाध्यक्ष अनुपम राठीले अन्तर्राष्ट्रिय मान्यता र भारतसितको द्विपक्षीय पारवहन सन्धिका कारण नेपाल आवतजावत गर्ने ढुवानीका साधनलाई भारतमा निर्वाध चल्न दिइनुपर्ने जिकिर गरे। उपाध्यक्ष राठीले यो समस्यालाई वाणिज्य मन्त्रालयले तुरुन्तै जानकारीमा लिएर कूटनीतिक पहल गरेर समाधान गर्न आग्रह गरे।