मालदिभ्समा ‘प्राइभेट आइल्याण्ड इताफुशी रिसोर्ट,’ जहाँ एक रातको बसाइलाई पर्छ ९३ लाख रुपैयाँ

बिजमाण्डू
२०७७ माघ ४ गते २१:२५ | Jan 17, 2021

Tata
GBIME
Nepal Life

संसारभर मानिसहरू कोभिड महामारीबाट दिक्क छन्।  यो दिग्दारी हटाउन घुम्ने योजना भएकाहरूलाई कुनै सुन्दर, शान्त टापुको यात्रा गर्ने चाहना अस्वभाविक होइन। 

यस्तो चाहना राख्ने 'हाइ-इन्ड' पर्यटक तान्न टापुहरूको देश मालिदभ्समा महंगो पूर्वाधार तयार छ। रिसोर्ट हो इताफुशीको। १२ सय साना टापुहरू र थुप्रै पर्यटकीय रिसोर्ट रहेको मालदिभ्समा एउटा निजी आइल्याण्डमा आगामी सातादेखि महंगो रिसोर्ट सञ्चालनमा आएको हो।   

एक रातकै बसाइमा ८० हजार डलर(९३ लाख रुपैयाँ) शुल्क राखिएको यो संसारकै सर्वाधिक महंगोमध्येको रिसोर्ट हो। कोभिड-१९ का कारण बन्द रहेको इताफुशी रिसोर्टद्वारा विस्तारित नयाँ 'द प्राइभेट आइल्याण्ड' सञ्चालनमा आउने भएको हो।

३२ हजार स्क्वायर मिटरमा अवस्थित यो रिसोर्ट समग्र मालदिभ्समा रहेका टापुमध्ये महंगो हो। कोभिड महामारीबाट छुटकारा पाउनका लागि यो निजी टापु आइसोलेसनका लागि निकै उपयोगी रहेको एजेन्सीहरूले जनाएका छन्। अन्य गन्तव्यका तुलनामा मालदिभ्समा फुलफ्लेज सुविधासहित १२ सय वटा साना आइल्याण्डमा रिसोर्टहरु सञ्चालित छन्। 

जम्मा तीन वटा भवनमा २४ जना पाहुना क्षमता रहेको आइल्याण्डमा इनडोर र आउटडोर सावरसहित ओभर वाटर भिल्लाको सुविधा राखिएको छ। सेयर्ड लिभिङ रुमसहित इन्फिनिटी पुल र ज्याकुजी राखिएको भिल्लामा दुई वटा स्विमीङ पुलसहितको तीन वटा बिच बेडरुम छन्। योसँगै चार वटा रेसिडेन्स बेडरुममध्ये दुई किङ बेडरुम र दुई क्विन बेडरुम छन्। रिसोर्टमा भएका लार्ज कमन लिभिङ एरिया र ज्याकुजी लगायत विभिन्न कक्ष किनारको पहुँचमा रहेको जनाइएको छ।

आधुनिकतामा अहिलेसम्मकै सुधार 'रिफाइन्ड येट मोडर्न' सहित पाहुनालाई मन्त्रमुग्ध पार्ने अवधारणामा डिजाइन गरिएको यो आइल्याण्डमा पुग्नेले आफ्नै तरिकालेल बसोबास  गर्न सक्ने रिसोर्टले जनाएको छ। पर्यटकका लागि इथाफुशीको प्राइभेट आइल्याण्ड अन्तर्राष्ट्रिय सुविधायुक्त रहनुका साथै विश्वकै अग्र पर्यटकीय गन्तब्यमा रहेका कारण सीमीत वर्गका लागि उदाहरणीय रहेको रिसोर्टको दाबी छ।

'प्राइभेट आइल्याण्ड विश्वकै एउटा उदाहरणीय पर्यटकीय गन्तव्य हो। यहाँ आउने पर्यटकले कुनै पनि बेला हरेक सुविधा पाउन सक्नेछन्,' हिल्टन एसिया प्यासिफिक अन्तर्गत वाल्डर्फ एस्टोरियाका लग्जरी एण्ड लाइफस्टाइल उपाध्यक्ष नेल्स-आर्न स्क्रोडेरले भनेका छन्। यो आइल्याण्डमा पर्यटक प्याकेजअन्तर्गत राजधानी मालेस्थित विमानस्थल अवतरणपछि १५ मिनेटमै अवधिमा सामुद्रिक जहाजमार्फत पुग्न सक्नेछन्। 

डाइनिङका लागि प्राइभेट आइल्याण्डले आफ्नै कुलिनरी टिम तयार गरेको छ। पर्यटकले तोकिएको सबै मेनुहरु विभिन्न सेटिङ अनुसार लिन सक्ने रिसोर्टले जनाएको छ। डुगामार्फत छोटो  अवधिमै पुग्न सकिने वालडोर्फको प्रमुख रिसोर्टमा पाहुनाले १० वटा विशेष डाइनिङ भेन्युमा जान सक्नेछन्। यी स्थानमा सिंगापुरको बर्न्ट इण्ड्स रेष्टुरेण्टको खानपिन सेवा लिन सक्नेछन्।

आयल्याण्डमा ओभर वाटर स्पा, वाटर स्पोर्ट्स, मेडिटेसन, योगा, जिम, चिल्ड्रेन पुल लगायतको सेवा लिन सकिन्छ। 

अन्तर्राष्ट्रिय यात्रुलाई खुल्दै मालदिभ्स 
आउँदो जुलाई १५ तारिखदेखि मालदिभ्स  सरकारले सबै अन्तर्राष्ट्रिय पर्यटकका लागि आगमन खुलाउने तयारी गरेको छ। मालदिभ्सले भ्रमणमा आउने पर्यटकका लागि क्वारेन्टाइन मापदण्ड नबनाइएको जनाएको छ।

मालेमा रहेको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी पर्यटकसहित सबैलाई क्वारेन्टाइन म्यान्डेटरी लागू नहुने जनाइएको छ। तर सबै यात्रुलाई ९६ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउन भने अनिवार्य गराइएको छ। सन् २०१९ मा मालदिभ्स भ्रमणमा जाने पर्यटकको संख्या १४.७ प्रतिशतले वृद्धि भएको थियो। यो समयमा १७ लाख पर्यटक मालदिभ्स पुगेका थिए। सन् २०२० मा पर्यटकको आगमन २० लाख हुने प्रक्षेपण गरिएको थियो। तर कोभिड-१९ का कारण पर्यटन क्षेत्र नै धरासायी अवस्थामा छ। 

सन् २०२० मेमा मालदिभ्सका पर्यटन मन्त्री अलि वाहेदले सन् २००४ को सुनामी र सन् २००८ को आर्थिक मन्दीको तुलनामा कोभिडको प्रभावले झन् जटिल अवस्था सिर्जना गरेको बताएका थिए। (एजेन्सीको सहयोगमा)