तिहारअघि नै सयपत्री फूल्यो: अभाव भने नहुने, पोहोरभन्दा मालाको मूल्य २० रुपैयाँसम्म बढ्ने

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १३:४८ | Oct 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अधिकमासका कारण तिहार एक महिना पछाडि धकेलिएको छ  तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ।

किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो।

तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यो वर्षको मागलाई सहजै धान्ने बताएका छन्।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०/२२ दिन पछाडि धकेलिए पनि फूलको बजारलाई कुनै असर नपर्ने बताए। 

घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भए पनि व्यवसायिक रूपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकाले तिहारको मागलाई सजिलै धान्ने उनले बताए।

गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो। जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो।

यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजुले बताए। यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ।

यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ। अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्ने बताए। गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो। 

पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिका अनुसार तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको छ। केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए। चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्रीलाई जोगाइराख्न समस्या भएको उनको भनाइ छ।  

तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाई छ।

अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन्। गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो।