सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकको लर्को, दैनिक करिब ५० जना पर्यटक जान थाले

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १३:०४ | Oct 30, 2020
सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकको लर्को,  दैनिक करिब ५० जना पर्यटक जान थाले

Tata
GBIME
Nepal Life

काठमाडौं। बन्दाबन्दी खुकुलो भएसँगै पछिल्लो एक महिनामा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या क्रमिक रुपमा बढ्दै छ।

भ्रमणकै लागि यतिखेर आन्तरिक र विदेश पर्यटक गरी दैनिक करिब ५० जना लुक्ला आइरहेको तेन्जिङ हिलारी विमानस्थल कार्यालयले जनाएको छ। विभिन्न ट्राभल ट्रेकिङ एजेन्सीसँगै वायुसेवा कम्पनीले सार्वजनिक गरेको आकर्षक प्याकेजले आन्तरिक पर्यटक बढेको लुक्ला-२ का वडाध्यक्ष आङफुर्बा शेर्पाले बताए।

'सगरमाथा क्षेत्रमा पदयात्राका लागि आन्तरिक पर्यटक कम आउने गर्थे। एक महिनायता आन्तरिक पर्यटकको मुभमेन्ट उल्लेख्य छ,' उनले भने। पदयात्रा र पर्वतरोहणका लागि नोभेम्बरका लागि मात्र युरोपेली मुलुकबाट करिब डेढ सय जना विदेशी पर्यटकले अग्रिम बुकिङ गरिसकेको उनले जानकारी दिए।

आन्तरिक पर्यटकको सक्रियताले आगामी वर्ष सन् २०२१ मा सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उनले बताए। 'लामो समयदेखि बन्द रहेका यहाँका होटलले व्यवसाय गर्न पाएका छन्। आन्तरिक पर्यटक आउँदा व्यवसायमा टेवा पुग्ने देखिएको छ,' उनले भने।

अहिले रोटर र फिक्स विङका करिब १० वटा एकतर्फी यात्रु उडान हुँदै आएको विमानस्थलका प्रमुख मुकेश दाहालले बताए। 'बन्दाबन्दी भएको बेला हुँदै आएको कार्गो फ्लाइटमा भने कमी आएको छ। भ्रमणका लागि आउने यात्रुवाहक उडान क्रमिक रूपमा बढ्दै गएको छ।'

'साउनदेखि असोज पहिलो सातासम्म यहाँ पर्यटकको चहलपहल नै थिएन। कार्गो उडान मात्र हुँदै आएको थियो। एक महिना यता तीन सय जना भन्दा बढी यात्रु आउजाउ भइसकेको छ,' उनले भने।

कोभिड-१९ संक्रमण बेला केही समय लुक्लातर्फको उडान प्रभावित भए पनि पछिल्लो समय सगरमाथा क्षेत्र भ्रमण गर्ने यात्रुको माग राम्रो रहेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। आन्तरिक पर्यटकको सहभागिताले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउँदै उनले भने,'पिसीआर नेगेटिभ मापदण्ड कायम गर्दै यो क्षेत्रमा पर्यटक आउन खुला गरिएको छ। सगरमाथा बाहेक मार्दी, लाङटाङ लगायत हिमाली पर्यटकीय गन्तब्य यतिखेर आन्तरिक पर्यटकले भरिभराउ छन्।'

सगरमाथा क्षेत्र भ्रमणको प्याकेज सार्वजनिक गरेको यती एयरलाइन्समार्फत हालसम्म दुई सय २५ जना आन्तरिक पर्यटकले भ्रमण गरिसकेको कम्पनीका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। यतीकै भगिनी कम्पनी तारा एयरमार्फत प्याकेज खरिद गरेका आन्तरिक पर्यटकलाई उडान सेवा दिँदै आएको छ।

कम्पनीले यात्रुको माग अनुसार तीन वटा उडान गर्दै आएको उनले जानकारी दिए। 'सगरमाथा क्षेत्र भ्रमणका लागि विदेशी पर्यटकको संख्या कम छ तर आन्तरिक पर्यटकको सहभागिता क्रमिक रूपमा बढिरहेको छ,' उनले भने। यो क्षेत्रमा प्रवेश गर्नका खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक तथा यात्रुका लागि पिसीआर परीक्षण नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ।