लकडाउनपछि परम्परागत व्यवसाय संकटमा, ५० प्रतिशत घट्यो किराना पसलको व्यापार

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १२:४० | Oct 30, 2020
लकडाउनपछि परम्परागत व्यवसाय संकटमा, ५० प्रतिशत घट्यो किराना पसलको व्यापार

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनपछि दैनिक उपभोग्य वस्तुको किनमेल शैली र बिक्री घट्दा किराना व्यापार ५० प्रतिशत घटेको छ।

लकडाउनपछि अनलाइन प्लेटफर्मबाट सामान खरिदबिक्री बढ्दा किराना व्यापार संकटमा परेको हो। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले लकडाउनपछि क्रयशक्तिमा ह्राससँगै उपभोक्ता समेत अनलाइनमाध्यमबाट सामान खरिद गर्न थालेकोले परम्परागत किराना पसलको व्यापार ५० प्रतिशत घटेको बताए।

‘लकडाउनको सुरुको अवधिमा खाद्यान्नको व्यापार चम्किएको थियो। त्यो बेलामा उपभोक्ताले धेरै सामान स्टक समेत गरेर राखे,’ उनले भने, ‘तर लम्बिएपछि क्रयशक्ति समेत घट्यो। कोरोना संक्रमणको जोखिमले कतिपय ग्राहकले अनलाइनमार्फत सामान खरिद गर्न थाले।’

उनका अनुसार होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका धेरै खाद्यान्न उपभोग हुने क्षेत्र बन्द छ। धेरै किराना पसलले साना रेष्टुरेन्ट र होस्टेललाई खाद्यान्न बिक्री गर्थे। उनका अनुसार खाद्यान्न बढी उपभोग गर्ने होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसको व्यापारले अपेक्षित गति नलिएसम्म खाद्यान्नको माग पहिलाको जस्तो हुँदैन।

लकडाउनपछि भाटभटेनी लगायतका ठूला सुपरस्टोरले पाँच हजार रुपैयाँसम्मको सामान खरिद गर्दा घरमै डेलिभरी गर्ने सुविधा पनि ल्याएको थियो। यो सुविधाका कारण नजिकैको पसलमा गएर सामान खरिद गर्ने उपभोक्ता समेत घटे। कलंकीकी किराना व्यवसायी संगिता पराजुलीका अनुसार अहिले व्यापार धेरै नै घटेको छ। 

‘लकडाउन अघिसम्म राम्रो व्यापार हुन्थ्यो। तर अहिले मुस्किलले १० जना ग्राहक सामान किन्न आउँछन्,’ उनले भनिन्, ‘हामीसँग सधैं सामान किन्ने ग्राहकले समेत अनलाइनमार्फत अर्डर गर्न थालेका छन्।’ सरकारले नै लकडाउनको समयमा अनलाइनमार्फत सामान खरिद गर्न प्रोत्साहित गरेको थियो। लकडाउनमा खाद्यान्नसहितका उपभोग्य वस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुपरमार्केटलाई डेलीभरी सेवा दिन आग्रह गरेको थियो। सरकारको आग्रह पछि सेल्सबेरी, बिग मार्ट, केके मार्ट लगायतले पनि डेलिभरी सेवा दिएका थिए।

लकडाउनपछि बजारमा इ-कमर्स व्यवसाय फस्टाउन थालेको छ। त्यही कारण अनलाइनमार्फत खाद्यान्न बिक्री गर्ने कम्पनी खुल्ने क्रम समेत बढेको छ। संक्रमणको डरले उपभोक्ताले घरमै बसेर आवश्यकता अनुसारका सामाग्री अनलाइनमार्फत अर्डर गर्न थालेका छन्। यसले गर्दा किराना व्यवसाय धरापमा परेको हो। दराज अनलाइनकी मार्केटिङ हेड नलिना महर्जनका अनुसार लकडाउनपछि अनलाइनमार्फत सामान किन्ने दोब्बर भएका छन्। ‘लकडाउनपछि धेरै नयाँ ग्राहक थपिएका छन्,’ उनले बिजमाण्डूसँग भनिन्, ‘विभिन्न सामान खरिद गर्नेको संख्या धेरै छ।’

परम्परागत व्यवसाय संकटमा

काठमाडौं उपत्यकामा थोरै मात्रै नाफा हुने भए पनि आफ्नै घरमा धेरैले किराना पसल चलाएका छन्। व्यवसायिक रूपमा भन्दा आफ्नो समय कटाउने माध्यमका रूपमा किराना पसल चलाइरहेका थिए। कोरोनाका कारण ती पसलको बिक्री घटेपछि थप संकटमा परेका छन्।

‘सानो ठाउँमा नजिकैको होलसेल पसलबाट सामान किनेर किराना पसलमा बिक्री गर्ने चलन छ। त्यसले किराना पसलमा सामान किन्दा महँगो पर्ने गरेको छ,’ एक व्यवसायीले भने, ‘तर सुपरस्टोरहरुले सिधै उत्पादकसँगबाट सामान किनेर बेच्दा सस्तो पर्छ। अब किराना व्यवसाय परम्परागत रूपमा चल्न सक्ने अवस्था छैन।’ उनका अनुसार उधारोमा सामान बेचेर केही किराना पसलले निर्वाहमुखी रूपमा चलिरहेका छन्।

उनका अनुसार परम्परागत खेती किसानीजस्तै व्यवसाय गरेर अब प्रतिस्पर्धा गर्न कठिन छ। त्यही भएर अहिले भाडा तिरेर किराना पसल चलाउने पनि नोक्सानीमा जान थालेका छन्।