मंगलबारदेखि घट्यो हवाई यात्रु, हवाई कम्पनीले कटौती गर्न थाले उडान, भाडा पनि सस्तियो

बिजमाण्डू
२०७७ कात्तिक १३ गते १५:०२ | Oct 29, 2020
मंगलबारदेखि घट्यो हवाई यात्रु, हवाई कम्पनीले कटौती गर्न थाले उडान, भाडा पनि सस्तियो

Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबारदेखि हवाई यात्रुको चाप एकाएक घटेको छ। गत शुक्रबार (फुलपाती) देखि टिकाको दिन सम्म यात्रु अकुपेन्सी ९० प्रतिशत थियो।

कोरोना संक्रमण दर बढ्दै गएको र तिहार पनि नजिकिएकोले काठमाडौंबाट वाहिरिएका धेरै यात्रु तत्काल नफर्किने अनुमान हवाई कम्पनीले गरेका छन्। विगतका वर्षमा दसैं अघि र सकिएपछि यात्रुको चाप बढ्ने भएकाले उडान थप्ने गरेका थिए।  वुद्ध एयरका प्रवक्ता रुपेश जोशीले आइतबारदेखि अकुपेन्सी ७० प्रतिशतमा झरेको बताए।

अष्टमीसम्म काठमाडौं बाहिर जाने यात्रु संख्या ९० प्रतिशत अकुपेन्सी रहेको उनले बताए। 'आइतबारदेखि यात्रुको संख्या घटेको छ। टिकटको मूल्य पनि ३० प्रतिशतसम्म घटेको छ।', कम्पनीका जोशीले भने। वुद्धले उडान संख्या पनि घटाएर ३२ वटामा झारेको छ। यसअघि ३५ उडान गर्दै आएको थियो। श्री एयरलाइन्सका अनुसार यात्रुको संख्या घट्न थालेको छ।

'सप्तमीदेखि टिकासम्म यात्रुको चाप राम्रै थियो। तर अहिले घटेको छ। यात्रु घट्नेवित्तिकै भाडा पनि कम भएको छ,' कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने। यात्रु माग कम भएकै कारण श्रीले दैनिक ६ उडान मात्रै गर्दै आएको छ। कम्पनीले १६ वटा उडानको अनुमति पाएको थियो।  

 यात्रु घटेपछि यती एयरलाइन्सले चार वटा उडान कटौती गरेको छ। अहिले दैनिक २० वटा उडान गर्न थालेको छ। कम्पनीका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन वर्तौलाले जिल्लाबाट काठमाडौं आउने यात्रु बढ्न थालेको छ। 'उपत्यका बाहिरबाट फर्कने यात्रुको माग आउन थालिसकेको छ। यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दा माथि रहेको छ,' उनले भने।

दैनिक तीनवटा उडान गर्दै आएको सौर्य एयरलाइन्सले दुईतर्फी अकुपेन्सी ८५ प्रतिशत रहेको जनाएको छ। प्राधिकरणबाट दैनिक १० वटा उडान अनुमति पाएको कम्पनीले हाल तीनवटा गन्तब्यमा उडान गर्दै आएको छ। 'हामीले अहिले तीनवटा गन्तब्यमा मात्र उडान गर्दै आएका छौँ। भाडादर कमै निर्धारण भएकाले यात्रु अकुपेन्सी उल्लेख्य छ,' कम्पनीका प्रवक्ता मुकेश शर्माले भने।
 

अहिलेको भाडादर (उपत्यका आउँदा)

जाने गन्तब्य

न्यूनतम भाडादर

अधिकतम भाडादर

उडान गर्ने वायुसेवा कम्पनी

धनगढी-काठमाडौं

५,०००

११,२५५

बुद्ध, श्री

विराटनगर-काठमाडौं

३,१९५

६,९५५

बुद्ध, श्री, यती, सौर्य

पोखरा-काठमाडौं

३,०००

४,७५५

बुद्ध, यती

जनकपुर-काठमाडौं

३,३०५

४,००५

बुद्ध, यती

भैरहवा-काठमाडौं

२,६९५

५,८५५

बुद्ध, यती, सौर्य

 

दसैं अगाडिको भाडादर (उपत्यकाबाट बाहिरिँदा)

जाने गन्तब्य

न्यूनतम हवाई भाडादर

अधिकतम हवाई भाडादर

उडान गर्ने वायुसेवा कम्पनी

काठमाडौं-धनगढी

८,२५०

११,२५५

बुद्ध, श्री

काठमाडौ-विराटनगर

४,०००

५,६५५

बुद्ध, श्री, यती

काठमाडौं-पोखरा

२,०००

४,१५५

बुद्ध, यती

काठमाडौं-जनकपुर

३,६०५

४,००५

बुद्ध, श्री, यती

काठमाडौं-भैरहवा

२,८००

५,८५५

बुद्ध, यती