खाद्यले ल्याएको खसीबोका पहिलो दिन नै आधाभन्दा बढी बिक्री भयो, ब्यापारीको बिक्री भएन

बिजमाण्डू
२०७७ कात्तिक ४ गते ०९:३७ | Oct 20, 2020
खाद्यले ल्याएको खसीबोका पहिलो दिन नै आधाभन्दा बढी बिक्री भयो, ब्यापारीको बिक्री भएन

Tata
GBIME
Nepal Life

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पहिलो दिनमै ५ सय ४५ वटा खसी-बोका बिक्री भएका छन्।

सरकारी कम्पनीले सोमबारदेखि थापाथलीको बिक्री कक्षबाट खसीबोका बिक्री गरिरहेको छ। बिक्री वितरणको पहिलो दिनमै  ५ सय ४५ वटा खसीबोका बिक्री भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए। सोमबारसम्म कम्पनीमा ६ सय ५ वटा खसीबोका आइपुगेको थियो। यसमध्ये ६० वटा मात्र बाँकी रहेको खनालले  जानकारी दिए। 

मंगलबार बाँकी खसीबोका आइपुग्ने हुनाले बिक्रीको अवस्था हेरेर थप निर्णय गर्ने उनले भने।

कम्पनीले यो वर्ष एक हजार ६ सय खसीबोका ल्याउने भएको थियो। कोभिडका कारण बिक्री कम हुने अनुमान गरी थोरै परिमाणमा मात्र ल्याउने निर्णय गरेको छ।

बजार मूल्यभन्दा प्रतिकेजी एक सय रुपैयाँ सस्तो मूल्य रहेको खसीबोका किन्ने उपभोक्ताको भीड रातिसम्मै थियो। बिहान ८ बजेदेखि सुरु भएको बिक्री बेलुका ७ बजेसम्म चलेको थियो। 

कम्पनीले प्रतिकिलो ५ सयदेखि ५ सय ८० रुपैयाँमा खसीबोका खरिद गरेर उपभोक्तालाई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ। 

सरकारी कम्पनीले सहुलियत दरमा बिक्री गरेपछि यतिबेला निजी क्षेत्रमा खसीबोका बिक्री नभएको व्यापारीहरुले बताएका छन्। बजारमा प्रशस्त मात्रामा खसीबोका आए पनि बिक्री नभएको व्यापारी दीपक थापाले जानकारी दिए।