सार्वजनिक सवारीमा चढ्ने यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, पूरै सीटमा यात्रु राखिने

बिजमाण्डू
२०७७ कात्तिक ३ गते १९:५८ | Oct 19, 2020
सार्वजनिक सवारीमा चढ्ने यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, पूरै सीटमा यात्रु राखिने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनमा पनि भाइजर (फेस सिल्ड )अनिवार्य गरेको छ।

सोमबार यातायात व्यवस्था विभागले एक सुचना जारी गरेर सार्वजनिक बसका  चालक, सहचालक, यात्रुहरुलाई अनिवार्य रुपमा भाइजरको प्रयोग गर्न निर्देशन दिएको छ। सरकारले पुरा सिटमा यात्रु बोक्न स्वीकृति दिएपछि सामाजिक दुरी कायम नहुने भन्दै भाइजर अनिवार्य गरिएको हो। यस अघि मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको थियो। फेस सिल्डको व्यवस्था आफैंले गर्न विभागले अनुरोध गरेको छ।

यस अघि कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि एक लाइनको सिटमा एक जना मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो। ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने भएपछि निर्धारित भन्दा ५० प्रतिशत भाडा लिन पाउने भदौ २९ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। असोज १ गतेदेखि छोटो, मध्यम र लामो दुरीको सार्वजनिक यातायात संचालनमा ल्याइएको थियो।

सरकारले आन्तरिक उडानहरुमा पनि पनि आधा सिटमा मात्रै राख्न पाउने निर्णय गरेको थियो। तर व्यवसायीहरुले त्यसको विरोध गरेपछि फिर्ता लिएर पूरा सिटमा यात्रु राख्न दिइएको थियो। यातायात व्यवसायीहरुले विमानहरुमा पूरा सिटमा यात्रु राख्न दिएको तर बसहरुमा नदिएको भन्दै विरोध गर्दै आएका थिए। विभागले सबै सिटमा यात्रु राख्न पाउने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो।

मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति हुँदै मन्त्रिपरिषदमा प्रस्ताव पठायो। सोही आधारमा गत असोज २६ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रोटोकल पालना गर्दै पुरानै भाडादरमा क्षमता अनुसार पुरै सिटमा यात्रु राख्न स्वीकृति दिएको हो। विभागले स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको सुरक्षा सम्बन्धी निर्देशिका तथा मापदण्डहरु पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।