म्याद सकिएका सामान बजारमा छ्यापछ्याप्ती, खुसीबुका पसले आफैं भन्छन् – कम्तिमा १०% सामान यस्ता

बिजमाण्डू
२०७७ असोज ६ गते १४:१० | Sep 22, 2020
म्याद सकिएका सामान बजारमा छ्यापछ्याप्ती, खुसीबुका पसले आफैं भन्छन् – कम्तिमा १०% सामान यस्ता

 
काठमाडौं । काठमाडौं महानरपालिकाभित्र म्याद गुज्रिएका सामानहरु बिक्री गर्ने पसलहरु बाक्लै भेटिन थालेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनबाट यस्तो देखिएको हो ।

Tata
GBIME
Nepal Life

समितिले उपभोक्ता हितको क्षेत्रमा काम गर्ने अन्य संस्थाका प्रतिनिधि समेतको सहभागितामा मंगलबार गरेको अनुगमनको क्रममा खुसीबु क्षेत्रका प्रायः सबै पसलमा म्याद सकिएका सामान भेटिएको बताइएको छ ।

अनुगमनका क्रममा खुसीबुको विनोद किराना पसलमा बेच्न राखिएका सामानका साथै पानी सहितका जार पनि मिति नभएका र लेबल समेत मेटिएको भेटिएपछि नष्ट गरेको उपभोक्ता अनुसन्धान  मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । 

बजार अनुगमन टोलीले  मंगलबार मात्र नष्ट गरेका पानीका जारहरुमा आक्वा ककनी ब्राण्डका सर्वाधिक रहेका छन् । अनुगमन टोलीका अनुसार, १८ वटा जार नष्ट गरिएको यस पानीको उत्पादक कम्पनीलाई आफूहरुले धेरैपटक जार र पानीको म्याद खुल्ने मितिका सम्बन्धमा धेरैपटक उपभोक्ताको कम्प्लेन सुनाएको भएपनि कम्पनीले त्यसलाई बेवास्ता गरेको बिक्रेताहरुको भनाइ छ ।

पानीका जार लगायतका सामान नष्ट गर्नुलाई बिक्रेताहरुले पनि जायज ठहर्याउँदै बजार अनुगमन नियमित गर्न टोलीलाई सुझाव दिए ।

यसैगरी, टोलीले खुसीबुकै चितवन दाजुभाइ ट्रेडर्सबाट पनि म्याद सकिएका र उपभोग्य मिति प्रष्ट नभएका ४७ प्याकेट म्याङ्गो ट्याङ्, ४० थान स्टेफ्री नामका स्यानिटरी प्याड र २७ प्याकेट अजिना मोटो नष्ट गरेको तिमिल्सानाले  जानकारी दिए ।

त्यस क्षेत्रमा भएका अन्य किराना पसलहरुको समेत अनुगमन गर्दा सबैमा म्याद गुज्रिएका सामान फेला परेको अनुगमन टोलीले बताएको छ । टोलिसँग व्यापारीहरु स्वयंले पनि बिक्री गर्न राखेका मध्ये १०-१५ प्रतिशत म्याद सकिएका सामान म्याद गुज्रिएका भएको स्विकारेका छन् ।लकडाउनका कारण यस्तो सामान राख्न बाध्य भएको उनीहरुको जिकिर छ ।