‘कोभिडले उद्योग व्यवसाय संकटमा छ, तर सरकारले सकारात्मक पहल गरिरहेको छ’

बिजमाण्डू
२०७७ असोज ५ गते २०:३२ | Sep 21, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ धेरैजसो मुलुक आर्थिक संकटमा फसेका छन्। दक्षिण एसियाली मुलुक पनि कोभिडबाट अछुतो रहने कुरै भएन। कोभिडले नेपाली अर्थतन्त्र पनि संकटमा छ।

कोभिडबाट प्रभावित भएका विभिन्न व्यवसायको पुनरूउत्थानका लागि योजनाहरु बनाउन आवश्यक देखिइसकेको छ। नेपालको केन्द्रीय बैंकमार्फत कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा लगायतमार्फत सहुलियत कर्जा दिइएको छ। कोभिडबाट प्रभावितलाई लक्षित गर्दै ५० अर्बको राहत कोष खडा गरिएको छ। कोभिड प्रभावित उद्योग व्यवसायका कर्मचारीलाई पाँच प्रतिशतमा कर्जा दिन यो कोष स्थापना गरिएको हो। यो सरकारले श्रमिकका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था समेत गरेको छ।

प्रधानमन्त्री केपीशर्मा ओलीले समेत निजी क्षेत्रको समस्या समाधानका लागि चासो देखाउनुभएको छ। सरकारले कोभिडका बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि सकारात्मक पहल गरेको छ।

म आफैं पनि पर्यटन व्यवसायमा संलग्न भएकाले सुरुवातमा यही क्षेत्रको कुरा गर्न चाहन्छु। यो क्षेत्रको सुधारका लागि गर्नुपर्ने केही अवधारणाहरु पेस गर्न चाहन्छु। कोभिडका कारण होटल, उड्डयन क्षेत्र, ट्रेकिङ एजेन्सी, पर्वतारोहण लगायतका व्यवसाय समस्यामा छन्।

नेपालले सन् २०२०मा पर्यटन वर्षको घोषणासमेत गरेको थियो। तर कोभिडले यो कार्यक्रम समेत रद्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो। अहिले यो क्षेत्र ठूलो मारमा छ। मेरो भारतको सीमा नजिकै होटल छ। भारतको उत्तर प्रदेश नजिक रहेको होटल भारतीय पर्यटकले भरिन्थ्यो। अहिले त्यो खाली छ।

यद्यपि ६ महिनापछि सबै होटल संचालन आइसकेका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु भइसकेका छन्। विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार होटल संचालनमा आएका छन्। अब दक्षिण एसियाली मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक छ। दक्षिण एसिया क्षेत्रको पर्यटन विकासका लागि सरकार/सरकार र व्यवसायी/व्यवसायीबीच सम्झौता गरेर अगाडि बढ्न आवश्यक छ। पर्यटन क्षेत्रमा ठूलो सम्भावनासमेत देखिएको छ।

(दक्षिण एसियाको अर्थतन्त्र कसरी पुनः सुरुवात गर्न सकिन्छ भन्ने शीर्षकमा फ्रिड्रच नाउम्यान फाउन्डेशनले गरेको भर्चुअल छलफलमा एफएनसीसीआईकी अध्यक्ष भवानी राणाले दिएको मन्तब्यको सारसंक्षेप)