प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार खतिवडा र सिएनआइ पदाधिकारीबीच भेट,  यस्ता राखे माग

बिजमाण्डू
२०७७ असोज २ गते १९:१६ | Sep 18, 2020
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार खतिवडा र सिएनआइ पदाधिकारीबीच भेट,  यस्ता राखे माग

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग शुक्रबार भेट गरेको छ।

भेटमा उद्योगमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा पिसीआर परीक्षण गरेर बाँकीबाट उद्योग सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए। त्यसैगरी पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १४ दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेसनका सेवाहरु प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने परिसंघको माग छ। परिसंघले दिएको सुझावका आधारमा औद्योगिक लगानी प्रवर्द्धन बोर्डमार्फत फास्ट ट्रयाकबाट लगानी अवरोध गर्ने कानुनहरु संशोधन गर्न समिति बनेकोमा स्वागत गर्दै कम्तिमा दुई वर्षको लागि त्यस्ता कानुनहरुलाई थाती वा संशोधन गरी लगानीको वातावरण बनाउनु पर्ने माग राखे। 

छलफलमा ग्लोबल टेण्डरको न्यूनतम सीमा एक अर्बबाट बढाएर तीन अर्ब गर्नुपर्ने धारणा परिसंघले राखेको छ। मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्थाहरु कार्यान्वयनमा नआएको, उत्पादनमूलक  उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने घोषणा कार्यान्वयन नभएको समेत परिसंघले जानकारी गराएको थियो। 

छलफलमा डा. खतिवडाले परिसंघबाट प्राप्त सुझावहरु राम्रो रहेकोले आफ्नो तर्फबाट कार्यान्वयन गर्ने निकायसँग छलफल गर्ने बताए। छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र वीरेन्द्रकुमार पाण्डेको उपस्थिति थियो ।