काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेसनल आइसीटी स्कलरसिप २०७७ का लागि आवेदन खुला गरेको छ।
महासंघले प्राविधिक शिक्षातर्फ ४९ जना विद्यार्थीलाई करिब दुई करोड रुपैयाँ बराबरको आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।
महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीचको सम्झौताअनुसार ४९ विद्यार्थीले एक करोड ९६ लाख रुपैयाँबराबरको छात्रवृत्ति पाउने महासंघका महासचिव नारायण थापाले जानकारी दिए।
आवेदन दिनका लागि सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीहरु योग्य हुनेछन्। यसैगरी कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याइ सीटीइभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले पनि आवेदन दिन सक्ने महासंघले जनाएको छ।
विद्यार्थीहरुले छात्रवृत्तिका लागि आगामी असोज नौ गतेभित्र आवेदन दिनुपर्ने महसंघले जनाएको छ। सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक जनालाई पूर्ण र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति दिने महासंघले जनाएको छ।
यस वर्ष महिला विद्यार्थीका लागि 'फिमेल मेरिट आइसिटी स्कलरसिप' अन्तर्गत प्रत्येक प्रदेशबाट चार जनाको दरले २८ जना छात्रालाई र तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने महासंघले जनाइएको छ।
छात्रवृत्ति पाउने विद्यार्थीले फाउन्डेसनमा स्नातक तहअन्तर्गत बि.एस.सी आइटी अध्ययन गर्न पाउने थापाले जानकारी दिए।
महासंघले विगत दुई वर्षदेखि छात्रवृत्ति वितरण गर्दै आएको छ। जसअन्तर्गत २८ जना विद्यार्थीहरुले छात्रवृत्तिमै अध्ययन गरिरहेको महासंघले जनाएको छ।
महासंघले निवर्तमान अध्यक्ष हेमन्त चौरसियाको संयोजकत्वमा तीन सदस्यीय छात्रवृत्ति छनौट समिति गठन गरेको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार विद्यार्थीहरुलाई महासंघले छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाएको छ।