कोरोना कहरकै बीच वायुसेवा निगमलाई दुर्गममा उडान भर्ने जहाज किन्न पर्यटनमन्त्रीको निर्देशन

बिजमाण्डू
२०७७ भदौ २४ गते १७:५७ | Sep 9, 2020
कोरोना कहरकै बीच वायुसेवा निगमलाई दुर्गममा उडान भर्ने जहाज किन्न पर्यटनमन्त्रीको निर्देशन

Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईले दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्ने जहाज खरिद गर्न निर्देशन दिएका छन्। कोरोना कहरमा हवाई सेवा ठप्प भएका बेला उनले यो निर्देशन दिएका हुन्।

बुधबार मन्त्रालयमा निगमका प्रमुख कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आयोजित बैठकमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन्। ‘आन्तरिक उडानतर्फ निगमसँग दुईवटा मात्र ट्विनअटर जहाज छन्। त्यसले माग धान्न सकेको छैन। निगमले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नका लागि तत्काल जहाज खरिद योजना अघि बढाउन आवश्यक छ,' उनले भने।

आर्थिक अवस्था सुधारका लागि मन्त्री भट्टराईले निगमको स्वामित्व रहेको २३ ठाउँको अचल सम्पत्तिको व्यवसायिक उपयोग गर्न निर्देशन दिएका छन्। निगमका अनुसार २३ ठाउँको अचल सम्पत्ति ‘जग्गा र भवन’ को मूल्यांकन ८ अर्ब २७ करोड ५८ लाख ८२ हजार रूपैयाँ बराबरको छ।

मन्त्री भट्टराईले निगमको अनावश्यक खर्च कटौती गर्न र आर्थिक नोक्सान गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए। निगमको खर्च घटाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न र अवकास पाएका कर्मचारीले टिकट वापत पाउने ५० प्रतिशत छुट लगायत कटौती गर्न पनि उनको निर्देशन थियो। उडान टिकटको कारोबारका लागि जिएसए तोक्दा प्रतिस्पर्धी र क्षमतावानलाई छनोट गर्न पनि उनले निगमका अधिकारीहरूलाई सजग गराए।