कोरोनाको कहरले घरजग्गा कारोबार डामाडोल, विज्ञहरु भन्छन् ४०% सम्म भाउ घट्छ

बिजमाण्डू
२०७७ साउन ३० गते ०९:०० | Aug 14, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारीसँगै चैतदेखि थला परेको घरजग्गा व्यावसायलाई कोरोनाको दोस्रो लहरले झनै डामाडोल बनाएको छ। 

गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन खुकुलो भएसँगै ५० प्रतिशतसम्म कारोबार हुन थालेको थियो।

तर साउन तेस्रो साताबाट कोरोना संक्रमणको ग्राफ पुनः उकालो लागेसँगै उपत्यकासहित धेरै जिल्लामा अहिले कारोबार रोकिएको छ। कारोबार भएका ठाउँमा पनि अहिले २० देखि ३० प्रतिशत हाराहारीमात्रै कारोबार भइरहेको छ।

समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला सेवाग्राहीको धेरै भिडभाड हुने मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने छैनन्। सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ। जसका कारण थलिएको घरजग्गा कारोबार तत्काल तंग्रिने सम्भावना निकै कम रहेको रियल स्टेट क्षेत्रका जानकार दिलिप न्यौपानेले बताए।

‘भदौ महिनासम्म त कोरोनाको असर उत्कर्षमा पुग्ने सरकारी प्रक्षेपण नै छ,‘ उनले भने, ‘कोरोना साम्य भएपनि दसैं, तिहार र छठ लगायतका चाडपर्वहरुका कारण असोजदेखि मंसिर महिनासम्म कारोबारले गति लिन सक्दैन। कम्तीमा २०२० (२०७७ पुस १७) सम्म घरजग्गा कारोबार खराब अवस्थाबाट गुज्रन सक्छ।‘ 

यो वर्ष दसैं, तिहार र छठ लगायतका ठूला पर्व कात्तिक र मंसिर महिनामा परेकाले पनि चैतदेखि थलिएको घरजग्गा कारोबार सामान्य हुन कम्तिमा पुससम्म कुर्नुपर्ने अवस्था आएको हो।

४० देखि ५० प्रतिशतसम्मै मूल्य घट्न सक्छ

कोरोना महामारीसँगै विश्वका सबै देशको आर्थिक गतिविधि ठप्प छ। रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ। जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। 

कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो। 

नेपालमा मध्यम आय भएका डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि पेशामा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन्। यी पेशा रहेकाहरू कसैको पनि आम्दानी विगत ६ महिनादेखि राम्रो नभएको न्यौपानेले बताए। 

पहिलो कुरा स्वास्थ्य सुरक्षा हो भने दोस्रोमा जीविकोपार्जन गर्ने हो। त्यसपछि मात्रै मानिसले घरजग्गा जोड्ने उनको विश्लेषण छ।

त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वर्षौ लाग्न सक्ने भएकाले खरिदकर्ता नहुँदा अबको २/३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने न्यौपानेको विश्लेषण छ।

अहिलेसम्म पुर्ख्यौली सम्पत्तिलाई घरजग्गामा लगाएका व्यवसायीलाई कुनै समस्या देखिएको छैन। तर ऋण लिएर घरजग्गामा लगानी गर्नेहरुलाई भने समस्या देखिन सुरु भइसकेको छ।

अनौपचारिक क्षेत्रको आम्दानीले २/४ महिनाको बैंक ब्याज तिरे पनि अब २/४ महिना अरु प्यानिक हुने बित्तिकै साना ठूला सबै घरजग्गा व्यवसायीमा समस्या देखिने न्यौपानेले बताए।

आधा मात्रै कार्यालय सञ्चालनमा, २०% मात्रै कारोबार

लकडाउन खुकुलो हुँदा देशभर रहेका १ सय ३१ वटा कार्यालयमध्ये दैनिक १ सय २० वटाभन्दा बढी मालपोत कार्यालयबाट नियमित कारोबार हुन सुरु भइसकेको थियो। तर पछिल्लो समय संक्रमण बढेसँगै आधा मात्रै कार्यालय सञ्चालनमा आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

आधा कार्यालय सञ्चालनमा रहे पनि कारोबार संख्या भने सामान्य अवस्थाको तुलनमा २० प्रतिशत हाराहारी मात्रै भइरहेको विभागको तथ्यांक छ।

सामान्य अवस्थामा दैनिक ४ देखि ५ हजारसम्म घरजग्गा किनबेच हुने गरेकोमा अहिले दैनिक ५०० देखि एक हजारको संख्यामा मात्रै कारोबार भइरहेको छ।

उपत्यकाका मालपोत कार्यालयले भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा रोक्ने निर्णय गरेसँगै बुधबार देशभरका ५९ वटा कार्यालयले मात्रै घरजग्गा किनबेचको काम गरेका थिए। 

५९ वटा कार्यालयबाट ७०३ वटा मात्रै घरजग्गा किनबेच हुँदा, ८४२ वटा घरजग्गा रोक्का राखिएको छ। त्यस्तै ५०० घरजग्गा फुकुवा गर्ने काम भएको छ।

किनबेचमा मुस्किलले ५० वटा कारोबार हुँदा रोक्कामा भने एउटै कार्यालयबाट ८८ वटा सम्म घरजग्गा रोक्काको काम भएको छ।

सर्वाधिक कारोबार गर्ने इटहरी, विराटनगर, झापा लगायतका कार्यालय बन्द हुँदा दैनिक १०० बढी घरजग्गा किनबेच हुने जनकपुरमा पनि ५४ वटा मात्रै घरजग्गा किनबेच भएका थिए।