स्किम लागू भएसँगै नयाँ गाडी विक्रीले लियो पिकअप, सामान्य अवस्थाको तुलनामा भने विक्री कम

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ साउन २८ गते १६:४४ | Aug 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सवारी साधनका शोरूमहरूमा ग्राहक जाँदैछन्। फाट्टफुट्ट बिक्री भइरहेको छ। लकडाउनपछिको अनिश्चित बजारमा पनि सवारीको बिक्रीलाई केहीले धानेको छ भने त्यो बिक्रेता कम्पनीहरूले ल्याएको बिभिन्न प्रकारका स्किम हो। 

लकडाउनपछि पुनः शोरूम खोलेका विभिन्न ब्राण्डका गाडीका नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले सार्वजनिक गरेको आकर्षक योजनाले यतिखेर बल्ल नयाँ गाडी बिक्रीलाई गति दिन थालेको छ। कुनै पनि कम्पनीको गाडी खरिदमा चासो देखाउने ग्राहक यतिबेला शोरूमसम्म पुगिरहनु पर्दैन। अनलाइन इन्क्वाइरी गरेर टेस्ट ड्राइभको इच्छा गरे बिक्रेताले घरमै गाडी ल्याइदिन्छन्।

गाडी बिक्री हुने क्रम बढे पनि लकडाउन अघिको सामान्य अवस्थामा जस्तो भने नरहेको कम्पनीहरूले जनाएका छन्। हुण्डाई, टाटा, सुजुकी, फक्सवागन र ड्याटसन लगायत विभिन्न चार पाङ्ग्रे गाडीका अधिकृत बिक्रेता कम्पनीले तीन महिनाको लकडाउनका कारण निल रहेको व्यवसायले गत जुलाईदेखि गति लिन थालेको जनाएका छन्।

कम्पनीहरूले नगद खरिदमा निश्चित रकम छुटदेखि सरल फाइनान्सलगायत सुविधाका बिभिन्न अफर ल्याएका छन्। हुण्डाई मोटर्सको अधिकृत विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले  गत जुलाई महिनादेखि गाडी विक्रीले पिकअप लिएको जनाएको छ। ग्राहकलाई खुसी पार्ने आकर्षक योजना सार्वजनिक गरिएसँगै गत महिना कम्पनीको क्रेटा, ग्राण्ड आइ टेन, स्यान्ट्रो र भेनु लगायतका गाडीको बिक्री बढेको कम्पनीका महाप्रबन्धक रुपेश शर्मा भट्टले बताए।

'गत जुनसम्म व्यवसाय ठप्प थियो। तर अफरका योजनाहरू ल्याएसँगै जुलाईदेखि बिक्रीले पिकअप लिएको छ। इन्ट्री लेवलको स्यान्ट्रोदेखि क्रेटासम्मको माग राम्रै छ,' उनले भने, 'तर पहिले पहिलेको जस्तो तुलना गर्दा बिक्री कम छ। शून्य हुनुको तुलनामा त राम्रै हो।' 

गाडी बिक्रीसँगै तीन महिनादेखि बन्द रहेको आफ्टर सेल्स सर्भिसले पनि गति लिन  थालेको छ। सवारीधनीहरू मर्मरत र नियमित सर्भिसिङका लागि आउने क्रम बढेको छ। कम्पनीका विभिन्न सर्भिस सेन्टरमा स्वास्थ्य सुरक्षा  अवलम्बन गर्दै सामाजिक  दुरी कायम गरी सेवा सुरु भइसकेको उनले बताए। 

अनलाइन इन्क्वाइरी र बुकिङ लगायत सुचारु गरेको सेवालाई निरन्तरता दिँदै जाने योजना रहेको बताउँदै उनले भने, 'हामीले यसअघि पनि अनलाइनमार्फत इन्क्वाइरी र बुकिङ लगायत सेवा दिएका हौ। अब त्यो कन्टिन्यु नै रहन्छ।' कम्पनीले लागू गरेको आकर्षक अफर अगस्ट २१ तारिखसम्मका लागि लागू रहेको उनले बताए।                      

लकडाउन खुकुलो हुँदै जाँदा गाडी बिक्री अवस्था पहिलाकै अवस्थामा नआए पनि केही हदसम्म कारोबारले गति  लिन सुरु गरेको सुजुकीको आधिकारिक  बिक्रेता सिजी मोटोकर्पले जनाएको छ। कम्पनीले ग्राहकलक्षित आकर्षक योजना सार्वजनिक गरेसँगै कोभिड संक्रमणबाट सुरक्षा अपनाउनका लागि विगत एक महिनादेखि नयाँ गाडी खरिदमा ग्राहकको चासो बढ्दै गएको कम्पनीका वरिष्ठ बजार प्रबन्धक करुण शाक्यले बताए।

सामान्यतया अवस्थाको तुलनामा गाडी बिक्रीले ५० प्रतिशत भन्दा कमै रहेको उनको भनाइ छ। पछिल्लो समय ग्राहकले चासो देखाए पनि बैंकद्वारा जारी गरिएको ५० प्रतिशत डाउन पेमेन्टको नियमका कारण अझै पनि  निर्धक्क गाडी खरिदमा सहभागी हुन नपाएको गुनासो आएको उनले जानकारी दिए। 

सुजुकीको सेलेरियो, वागन-आर, स्वीफ्ट लगायत फेमिली कार खरिदमा ग्राहकले बढी चासो देखाउँदै आएको उनले बताए। लकडाउनका कारण खाद्यान्न ढुवानी फस्टाएसँगै कम्पनीको इको कार्गो भ्यान खरिदप्रति पनि ग्राहकको चासो बढेको छ। खाद्य पदार्थलगायत बिभिन्न सामान होम डेलिभरी सुरू गरेका कम्पनीहरूले पिकप र कार्गो भ्यान किनिरहेका छन्।  

असार भरीका लागि आकर्षक योजना  लागू गरेको कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै साउन मसान्तसम्मका लागि योजना लम्ब्याएको उनले बताए। 'ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले थप आकर्षक योजनाहरु सार्वजनिक गर्ने तयारी गर्दैछ,' शाक्यले भने। नयाँ गाडी विक्रीसँगै कम्पनीको आफ्टर सेल्स सर्भिसले राम्रै गति लिएको कम्पनीले जनाएको छ। सुजुकी जापान र भारतसँगको समन्वयमा कम्पनीले लागू गरेको स्वास्थ्य सुरक्षाका आधारमा सर्भिस सेन्टरमा सर्भिसिङको सेवा दिँदै आएको उनले बताए।  

पछिल्लो समय बढ्दै  गएको संक्रमणका कारण अटोमोबाइल इण्डस्ट्रीमा पुनः नकारात्मक असर सुरु हुन सक्ने प्रक्षेपण गर्दै उनले भने, 'फुल फ्लेजमा व्यवसाय नभए पनि व्यवसायले केही हदसम्म गति लिएको थियो। संक्रमण फैलिएसँगै विगत एक महिनादेखिको गतिले पुनः ब्रेक लिने सम्भावना देखिन्छ।'

टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले सामान्यतया तुलनामा जुलाइ महीना ५० प्रतिशत बिक्री कायम गरेको छ। बजारले पूर्ण रूपमा गति नलिए पनि पहिलेका तुलनामा निकै सुधार आएको कम्पनीले जनाएको छ। वेबसाइटबाट गाडीको विवरण लिइ ग्राहकले अनलाइनमार्फत बुकिङ इन्क्वाइरी लिँदै आएका छन्।

टाटाको टियागो र नेक्सन बुकिङ, खरिद र इन्क्वाइरीका लागि ग्राहकको चासो बढिरहेको कम्पनीले जनाएको छ। नयाँ गाडी विक्रीसँगै आफ्टर सेल्स सर्भिसको काम पनि भइरहेको छ। 'लकडाउन सुरु भएदेखि घरमै थन्किएका, अत्यावश्यक प्रयोजनका लागि प्रयोग भएका गाडीहरुलाई धमाधम सर्भिस दिँदै आएका छौँ,' कम्पनीका एक कर्मचारीले भने। 

व्यवसायीहरूका अनुसार नयाँ गाडी खरिदकर्तामध्ये अधिकांश अपग्रेड हुन चाहनेहरू छन्। एक समय आफूले चलाएको गाडी फेरेर नयाँ सुविधासहित आएका मोडलमा बढी इन्क्वाइरी आउने गरेको छ। कोरोना संक्रमणका कारण सामाजिक दुरीमा चनाखो भएका कतिपय ग्राहक सपरिवार यात्रा गर्न नयाँ गाडी खरिद गरिरहेका छन्। नेपालमा बिभिन्न ब्राण्डका गाडीका आधिकारिक बिक्रेताहरूको संख्या करिब तीन दर्जन छन्। देशका बिभिन्न शहरमा सबडिलरहरू छन्। 

सवारी व्यवसायीहरूको संस्था नाडाका अध्यक्ष कृष्ण दुलाल कोरोनाले चार पांग्रे सवारीको बजार प्रभावित भएको बताउँछन्। 'यो अवधिमा फोर ह्वीलरभन्दा टु ह्वीलरको बिक्री राम्रो भएको छ,' उनले भने। लकडाउनपछि गाडीका स्पेयर पार्ट्स् र ब्याट्रीको बिक्री बढेको उनले बताए। 'रोग लाग्छ भनेर सधैं डराएर बस्ने कुरा भएन,' उनले भने, 'सुरक्षा सतर्कताका सबै उपाय गरेर पनि व्यवसाय चलाउनै पर्छ। अहिले नाफानोस्कान होइन जसरी धानिन्छ त्यसरी चलाउने बेला हो।' 

नाडाले बर्सेनि गर्दै आएको अटो शो यसपटक पूर्वनिर्धारित मितिअनुसार चालु महिना हुनुपर्ने थियो। आगामी फेब्रुअरीमा गर्ने सल्लाह भएको जानकारी उनले दिए।