जारको पानीको मूल्य नबढेको वाणिज्य विभागको स्पष्टीकरण, ‘बढेको होइन घटेको हो’

सरला सुवेदी/बिजमाण्डू
२०७७ साउन २७ गते ०२:३१ | Aug 11, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बजार सन्तुलनको लागि जारको र बोटलको पानीमा ४ रुपैयाँ र १० रुपैयाँ घटाएको  जनाएको छ।

विभागले  भदौ १० गते देखि बजारमा उपभोक्ताको लागि जार र वोटलको पानीमा  अधिकतम मूल्य तोकेको थियो। बिचौलियाले बढी मूल्यमा कारोबार गरेर बजार असन्तुलित भएकाले मूल्य तोकिएको वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले बताए । 

'बजारमा प्रतिस्पर्धा चलिरहेको छ । व्यवसायीले आफुखुशी मूल्य तोक्दा किन्ने ग्राहक ठगिन्छन् । एउटा पसलमा ४० रुपैयाँ र अर्को पसलमा ५० रुपैयाँसम्म लिन्छन् । एमआरपी राख्दा बढी लिने व्यापारीले  लिन पाउँदैन जसले गर्दा उपभोक्ता मूल्य घटेको हो बढेको होइन भनेर बुझ्नुपर्छ,' सुवेदीले भने ।

कतिले पानी उद्योगबाट सिधै ढुवानी गर्ने पसलले उपभोक्तालाई ३५ रूपैयाँमा ल्याएर ४० बिक्री गर्ने गरेका छन्। खुद्रा मूल्यमा एक जारको ६० रूपैयाँभन्दा बढी पनि परेको पाइएपछि अधिकतम मूल्य कायम गरेको विभागले जनाएको छ। 

विभागको बजार अनुगमनको टोलीले केही दिनदेखि खानेपानी उद्योगहरुमा अनुगमन गरिरहेको पनि सुवेदीले जानकारी दिए।

'यो सब पानीको गुणस्तर बढाउनका लागि गरिएको हो । पानी गुणस्तर सम्बन्धी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा टोली नै बनाएर अनुगमन गरेका छौं,' उनले भने।

२१ वटा उद्योगले उत्पादन गर्ने पानीको अनुगमनपछि गुण्स्तरसहित पानीको जार र बोटलमा अधिकतम मूल्य राखिएको विभागले जनाएको छ। 

वाणिज्य विभागले सोमवार आगामी भदौ १० गतेदेखि लागु हुने गरेर उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकका लागि प्रशोधित पानीको उक्त मूल्य तोकेको छ । 

नेपाल बोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारीले भदौ १० पछि उद्योगबाट सिधै खरिद गर्ने उपभोक्ताले यही मूल्यमा खरिद गर्न सक्ने बताए। 

पानीमा न्यूनतम बिक्री मूल्य लागू नहुँदा उपभोक्ता ठगिने वातावरण भएपछि मूल्य लागू गर्ने निर्णय भएको  उनको भनाई छ।

यसबाट उद्योग र उपभोक्ताबीचका  बिचौलियालाई निरुत्साहित गर्ने उनले बताए। 'हामीले प्रतिजार १० रुपैयाँ कम गरेका छौं । बोटलमा ४ रुपैयाँ घटाएका छौं । महंगोमा पानी उत्पादन गरेर उद्योग बन्द हुने अवस्था छ,' उनले भने।