मोरङमा केराउको चोरी निकासी, सीमा कटाउन लाग्दा ५ लाख बराबरको हरियो केराउ बरामद

बिजमाण्डू
२०७७ साउन २२ गते १४:४८ | Aug 6, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। मोरङको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गर्न लागिएको ५ लाख रुपैयाँ बराबरको ६ हजार २ सय ५० किलोग्राम हरियो केराउ प्रहरीले बरामद गरेको छ।

धनपालथान गाउँपालिका-२ मा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र पौठाबाट प्रहरीले बुधबार राति केराउ बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार मायागञ्ज प्रहरी चौकीका प्रहरी नायव निरीक्षकको कमान्डमा गएको टोलीले तस्करीको केराउ नियन्त्रणमा लिएको हो ।

उक्त केराउ लिन बरामद स्थलमा इप्रका रंगेलीका प्रहरी निरीक्षकले नेतृत्व गरेको टोली गएको थियो ।

प्रहरी टोली पुगेको देख्नेबित्तिकै केराउ लोड गरिएको को१ख ४८८७ नम्बरको मिनी ट्रक छाडेर चालक फरार भएको प्रवक्ता राईले विज्ञप्तिमा जनाएका छन्।

उक्त हरियो मटर  धनपालथान-२ बस्ने दिलीप साहको भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको र उनी समेत फरार रहेकाले खोजतलास जारी रहेको डिएसपी राईले बताए ।