मापदण्ड पालना नगर्ने दुई पानी उद्योग सिल, दर्ता नगरी कारोबार गर्नेलाई ५० हजार जरिवाना

बिजमाण्डू
२०७७ साउन ८ गते १०:४३ | Jul 23, 2020


काठमाडौं। बुढानिलकण्ठका दुई पानी प्रशोधन उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेको छ।

Tata
GBIME
Nepal Life

सन्देश मिनरल वाटर र अक्वा स्ट्रिम मिनरल वाटरको कारोबार बन्द गराउनुका साथै उद्योग नै सिल गरेको हो। पानी उत्पादनका लागि अपनाउनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको पाएकाले कारबाही गरिएको विभागले जनाएको छ।

'वर्खाको समयमा पानी उद्योगहरुले उत्पादन सम्बन्धी मापदण्डहरु पूरा नगर्ने, लेबलिङ, स्वचालित मेशिनबाट बोटल सफा गर्नमा लापरवाही भेटिन थालेको छ,' वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले भने, 'उपभोक्तालाई स्वच्छ पानी बिक्रीवितरण गर्नुपर्ने उद्योगमा लापरवाही बढ्न थालेपछि अनुगमन गर्दै कारवाही थालेका हौं।' लापरवाही गरेको भेटिएपछि सन्देश मिनरल वाटर र अक्वा स्ट्रिम मिनरल वाटरलाई कारबाही गरिएको उनले बताए।

उनका अनुसार विभागका दुई टोलीले बजार अनुगमन गरिरहेका छन्। केही दिनदेखि एउटा टोलीले खानेपानी उद्योगहरुमा अनुगमन गरिरहेको महानिर्देशक सुवेदीले बताए। अनुगमन शाखा प्रमुख सागर झाको टोली पानी उद्योगको अनुगमनमा खटिएको छ। 'सरकारद्वारा निर्धारित मापदण्ड पूरा नगर्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछौं,' उनले भने।

काठमाडौं उपत्यकामा मात्रै करिब २ सय वटा पानी प्रशोधन उद्योगहरु छन्। यिनीहरूमध्ये सूचना आएका करिब १० प्रतिशतमा उद्योगमा टोलीले स्थलगत अनुमगन गर्ने विभागले जनाएको छ।

यस्तै दर्ता नै नगरी व्यवसाय गरिरहेको पाइएपछि विभागले अफरिङ ह्यापिनेस अनलाइनलाइ ५० हजार रूपैयाँ जरिवाना गरेको छ।