काठमाडौं। दुर्गम जिल्लामा ड्रममा डिजेल राखेर कारोबार गर्न 'प्याक्ड बिक्रेता' का रूपमा अनुमति लिन अनिवार्य रहेको भन्दै नेपाल आयल निगमले निवेदन खुलाएको छ।
प्याक्ड बिक्रेताअन्तर्गत अनुमति लिएकाहरूले डिजेलको मात्र कारोबार वैधानिक तरिकाले गर्न पाउँछन्।
'कुनै प्याक्ड बिक्रेताले जमिनमुनि ट्यांकी गाडेर पम्पसहित गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिएर काम गर्ने व्यवस्था छ,' निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, 'यसको मुख्य उद्देश्य भनेको नै दुर्गम जिल्लाका जनतालाई डिजेलका कारण अप्ठ्यारो नहोस भन्ने हो।'
नेपाल सरकारले दुर्गम भनेर घोषणा गरेको २१ जिल्लामा, जहाँ सडकको अवस्थाले गर्दा विकास निर्माणको काम, सामान ढुवानी तथा अन्य कामको लागि सजिलै ड्रममा डिजेल किन्न पाउने व्यवस्था गरिएको छ। साथै प्याक्ड बिक्रेताले पनि कम लगानीमा ३ देखि ४ हजार लिटर डिजेल खरिद गरी आवश्यकताअनुसार एक लिटरदेखि २० लिटर सम्मका ड्रममा राखेर बिक्री गर्न सक्छन्। यसका बिक्रेताले गुणस्तर नापतौलबाट प्रमाणित गरेका ड्रमहरु प्रयोग गर्नु पर्ने निगमले बताएको छ।
पेट्रोलियम पदार्थको कारोबार गर्ने दुर्गमका जिल्लाहरू दार्चुला, मुगु, दैलेख, बझाङ, कालिकोट, जाजरकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा, अछाम र सोलुखुम्बुलगायत छ।
दुर्गम जिल्लाका लागि स्थानीय व्यवसायीले निगमको प्याक्ड बिक्रेता नियुक्त भइ पेट्रोलियम पदार्थको कारोबार गर्न सक्नेछन्। जसमा इच्छुक व्यक्ति तथा संस्थाले निगमको सम्बन्थित प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्ने सकिने व्यवस्था मिलाएको जनाइएको छ।