सार्वजनिक सवारी संचालनमा आउने कुरा हल्ला मात्रै, गाडी नचल्दा यातायात ब्यवसायी डुबे

बिजमाण्डू
२०७७ असार २१ गते ०८:३३ | Jul 5, 2020


काठमाडौं। विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा आइतबारदेखि सार्वजनिक सवारीसाधन खुल्ने भन्दै हल्ला चलेपनि त्यसमा कुनै सत्यता नरहेको यातायात व्यवसायीहरुले बताएका छन्। 

Tata
GBIME
Nepal Life

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै असार २१ गते आइतबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आए पनि यसबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।

सरकारले कोभिड-१९ को संक्रमण फैलनबाट रोक्न चैत ११ गतेदेखि मुलुकभर लकडाउन जारी राखेको छ। संक्रमण दर बढेसँगै मुलुकमा साउन ७ गतेसम्म लकडाउन थपिएको छ।

चैत १० देखि देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएका कारण गाडीहरु घर ग्यारेजमा थन्काइएको छ। सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक संकटमा परेको महासंघले जनाएको छ।

महासंघका साथै मजदुर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित रूपमा लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना नबनाएको महासंघले आरोप लगाएको छ।

‘लकडाउन खुला गर्नेबारे सरकारले कुनै पनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्योल थपिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रूपमा वार्ता र सम्वाद गरिरहेको छ। चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं।‘

सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ। व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य गर्न महासंघले आग्रह गरेको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात संचालनका लागि निर्देशिका बनाएको भए पनि व्यवहारिक नभएको व्यवसायीहरुले बताएका छन्। महासंघका महासचिव सरोज सिटौलाले निर्देशिका मानेर सवारी साधन संचालन गर्न नसकिने बताए। उनले आधा यात्रु बोकेर बस संचालन गर्दा तेल खर्च समेत नउठ्ने बताए। विभागले यात्रुले अनिवार्य रूपमा  मास्क स्यानिटाइजर प्रयोग गर्ने, बसभित्र सामाजिक दुरी कायम राखेर एक सिट छाडेर बस्ने, सहचालकका र चालकका लागि क्याबिन व्यवस्था गर्नुका साथै यात्रुहरुबीच कुनै सम्पर्क नहोस भनेर बार्ने लगायत उल्लेख गरेर निर्देशिका बनाएको छ।