खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षमा खाद्यान्न भन्दा इन्डक्सन चुलोको माग बढी

सरला सुवेदी/बिजमाण्डू
२०७६ चैत्र १६ गते १४:२१ | Mar 29, 2020
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षमा खाद्यान्न भन्दा इन्डक्सन चुलोको माग बढी

Tata
GBIME
Nepal Life

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गरेको खाद्यान्न बिक्री कक्षमा खाद्यान्न भन्दा इन्डक्सन चुलोको माग बढी भएको छ।लकडाउन पछि मात्रै तीन हजार पाँच सय भन्दा बढी विद्युतीय चुलो बिक्री भइसकेको कम्पनीकी सुचना अधिकृत शर्मिला सुवेदीले बताइन्।

सरकारले ग्यास अभाव कम गर्न उपभोक्तालाई विद्युतीय सामानहरु प्रयोग गर्न आग्रह गरेपछि खाद्यले सुरु गरेको बिक्री कक्षमा विद्युतीय चुलोको माग ह्वातै बढेको उनले बताइन्।

सरकारले हालै मात्र विद्युतीय चुलो प्रयोगकर्तालाई विद्युत  महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ। यसका साथै विद्युतीय चुलो आयातमा लिदै आएको १५ प्रतिशत भन्सार महसुल समेत नलिने निर्णय सरकारले गरेको छ।

हाल कम्पनीले तीन वटा बिक्री कक्षबाट  खाद्यन्न तथा इन्डक्सन चुलो बिक्री गर्दै आएको छ। सरकारले कोरोना भाइरसको महामारी रोक्न मंगलबार देखि  देशभर लगाएको लक डाउनको समय भरि उपभोक्तालाई खाद्यान्न अभाव  हुन नदिन कम्पनीले बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म बिक्री कक्ष खुल्ला गर्दै आएको छ।

भारतमा लक डाउन सुरु भएपछि नेपाल आयल निगमले  बजारमा आधा सिलिण्डर ग्यास दिन निर्देशन दिएपछि उपभोक्ताहरु  इन्डक्शन चुलोमा आकर्षित भएका हुन्।

खाद्यान्न विक्री भने घट्दो

विगतमा विद्युतीय चुलो भन्दा खाद्यान्न बिक्री बढी हुने गरेकोमा यतिबेला भने खाद्यान्नको बिक्री घट्दै गएको छ।

अहिले  दैनिक ४ क्विन्टल मात्र चामल बिक्री भइरहेको छ। विगतमा दैनिक ८ क्विन्टल सम्म चामल बिक्री हुँदै आएको थियो। गत साताबाट ५० प्रतिशत  मात्र चामल बिक्री हुँदै आएको सुवेदीले बताइन्।

लकडाउनका कारण ग्राहकलाई हिडडुलमा असहज भएकाले कम ग्राहक आउन थालेको  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लिमिटेडका प्रबन्धक निर्देशक श्रीमणी खनालले बताए। ग्राहक कम भएपनि बिक्री कक्ष खुल्ला राख्ने पनि उनले बताए।

खाद्यान्न पुर्‍याउन मोबाइल एप बनाउँदै

लकडाउनका कारण सर्वसाधारणले घर बाहिर निस्कन नपाएपछि कम्पनीले खाद्यान्न लगायतका अत्यावश्यक सामान पुर्याउन एप बनाउने भएको छ।

कम्पनीले एप मार्फत अर्डर लिने र मोबाइल भ्यानको मार्फत खाद्यान्न पुर्‍याउने योजना अघि सारेको  कम्पनीले जनाएको छ। कम्पनीले अहिले घुम्ती पसल मार्फत पनि सेवा दिदै आएको छ।