भारत ओर्लेनबित्तिकै ट्रम्पले भने लव यू इन्डिया, अमेरिकाका लागि किन महत्वपूर्ण छ यो भ्रमण?

बिजमाण्डू
२०७६ फागुन १२ गते १५:४० | Feb 24, 2020

Tata
GBIME
Nepal Life

अहमदाबाद। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन्। भ्रमणका क्रममा अहमदाबाद पुगेर ट्रम्पले भारतसँग अत्याधुनिक डिफेन्स सिस्टम साझेदारी गर्ने घोषणा गरे। ट्रम्पले भारत ओर्लिए लगत्तै रक्षासम्बन्धी उपकरणको 'ठूलो उपहार' भारतलाई दिएका छन्।

उनले भारतलाई  दिइने उक्त रक्षा उपकरणहरुले भारतीय सेना अझ बढी बलियो हुने बताए। मोटेरा स्टेडियममा भएको भब्य स्वागत कार्यक्रममा ट्रम्पले अमेरिका र भारत मिलेर आतंकबादसँग लड्ने संकल्प गरेको पनि भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गर्दै ट्रम्पले मोदीकै कारण भारतका हरेक गाउँमा बिजुली पुगेको भनेका छन्। भाषणकै क्रममा उनले पाकिस्तानसँग पनि आफ्नो राम्रो सम्बन्ध भएको पनि बताए।

मोदीले पनि ट्रम्पलाई स्वागत गर्दै यो भ्रमण भारत र अमेरिकाबीच प्रगति र सम्पन्नताको दस्ताबेजका रुपमा रहने बताए। दुई देशका प्रमुखहरुले मोटेरा स्टेडियममा देखाएको आत्मियता भन्दा पनि दुई देशबीचको ट्यारिफ वार र नयाँ ट्रेड डिललाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ।

भारत अमेरिकाको आठौं ठूलो ब्यापारिक पार्टनर देश  हो। ट्रम्पको पहिलो भारत भ्रमणमा विज्ञहरुले के अनुमान गरेका छन् भने पक्कै पनि भारतसँग अमेरिकाले कुनै ठूलै ट्रेड डिल गर्नेछ र यसकालागि दुबै देशबीच महिनौंदेखि तयारी भैरहेका छ।  

विज्ञहरुका अनुसार यदि ट्रम्प प्रशासन ससाना मुद्दाहरुमा अल्झिएर भारतसँगको ब्यापारिक सम्बन्ध बिगार्न चाहन्छ भने भविष्यमा भारतलाई रणनीतिक साझेदारका रुपमा नजिक राख्न पनि सक्नेछैन। ट्रम्पभन्दा अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने निकै मेहनत गरी भारतलाई रणनीतिक साझेदारका रुपमा राखेका थिए।

भारतलाई अमेरिकाले बिकासशील देशहरुको सूचीबाट हटाएर सब्सिडीको लाभ लिनबाट भारतलाई बञ्चित गरेपछि दुई देशबीच समस्या अझ बढेको हो।

दुई दिने ट्रम्पको भ्रमणका क्रममा अमेरिका र भारतबीच रणनीतिक बैश्विक सम्बन्ध मजबुत हुनेमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताएका थिए। द्विपक्षीय भेटमा क्षेत्रीय तथा वैश्विक मुद्दाहरु तथा ब्यापार तथा आतंकबाद बारे चर्चा हुने बताइएपनि ट्रेड डिलका बारेमा भने खुलेर केही बताइएको छैन।

नमस्ते ट्रम्प नाम राखिएको यस भ्रमणमा भारत सरकारले ८० देखि ८५ करोड भारतीय रुपैयाँ खर्च गर्ने बताइएको छ।

भारतमा प्रत्यक्ष बैदेशिक लगानीका रुपमा अमेरिकी कम्पनीहरुको ठूलो लगानी रहेको छ। अमेरिका भारतमा लगानी गर्ने देशहरुमध्ये पाँचौ ठूलो लगानीकर्ता देश हो। बेलायत, जर्मनी, फ्रान्स र चीनभन्दा पनि अमेरिका यसमा अगाडि छ। इन्टरनेट तथा सोसल मिडियाको प्रयोगमा पनि अमेरिकी डिजिटल कम्पनीहरुको भारतमा ठूलो हिस्सा रहेको छ।

ट्रम्पको हार्ले डेभिडसन मोह
भारतमा हाल अमेरिकी कम्पनीहरुको प्रदर्शन राम्रो हुन सकेको छैन। मोटरसाइकलको प्रतिष्ठित ब्राण्ड हार्ले डेभिडसनको पनि भारतमा उपस्थिती नाम मात्रको छ।

तर अमेरिकी  राष्ट्रपति भने हार्ले डेभिडसनका फ्यान हुन्। ट्रम्पको हार्ले डेभिडसनसँगको मोह यति छ कि जब जब दुई देशबीच कस्टम ड्युटीबारे कुरा हुन्छ त्यतिबेला हार्ले डेविडसनको नाम आएकै हुन्छ।

यस भ्रमणमा हुने ट्रेड टक्सपछि भारतमा हार्ले डेभिडसनको भाउ घट्ने अनुमान गरिएको छ। भ्रमणका क्रममा भारतले हार्ले डेभिडसनमाथि लगाइएको इम्पोर्ट ड्युटी कटौती गर्न सक्ने विज्ञहरुको अनुमान छ। 

भारतीय बजारमा २५ वर्षदेखि रहेको ब्राण्ड फोर्डको पनि बजारमा २.५ प्रतिशतमात्र बजार हिस्सा छ। अमेरिकी बैंकले भारतमा अझैपनि रिटेल बैंकिङ सेवा दिन सकेको छैन। भारतको तीब्र रुपमा अघि बढिरहेको म्युचुअल फण्डको बजारमा पनि अमेरिकी म्युचुअल फण्डहरुको हिस्सा एकदमै कम छ।

गत वर्ष ट्रम्पले ट्यारिफका बिषयमा मोदीसँग कुरा गर्दै हार्ले डेविडसनमा शतप्रतिशत ट्यारिफ हुनु एकदमै धेरै हो भनेका थिए। जब दुइ बीच ट्रेड टक्स हुनेछ त्यसबेला कर छुट को घोषणा हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन्।

गत सेप्टेमबरमा संयुक्त राष्ट्रसँगको सभामा ट्रम्प र मोदी बीच भेट भएपनि दुबै देशबीच कुनै कुराकानी हुन सकेन। त्यस बखत पनि  ट्रेड डिलको सम्झौतामा रहेको बिमती सुल्झिएको थिएन। गत हप्ता मात्रै अमेरिकी ब्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले पनि दुबै देशबीचको ब्यापारिक समस्या नसुल्झिएको भन्दै तय भएको भारत भ्रमण समेत रद्द गरेका थिए।

भारत भ्रमणमा आउनु अघि ट्रम्पले स्पष्ट भनिसकेका छन् कि भारतसँग हाल कुनै ठूलो डिल हुनेछैन। उनले ट्विट गर्दै भनेका थिए-' भारतले कहिल्यै हामीसँग राम्रो ब्यवहार प्रदर्शन गरेन तर प्रधानमन्त्री मोदी मलाई धेरै मन पर्छन्। हामी भारतसँग कुनै ट्रेड डिल गर्न त सक्छौं तर ठूलो डिल हामी आगामी दिनकालागि बचाइरहेका छौं।'

भारतीय विदेश मन्त्रालयले पनि दुबै देशले भ्रमणका क्रममा हतारमा कुनै ठूलो डिल गर्न नचाहेको स्पष्टीकरण दिइसकेको छ।

बिदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा भनिएको छ -'हामीलाई आशा छ दुबै देशहरुबीच यस्तो सन्तुलन बनोस् जसको फाइदा दुबै देशले लिन सकोस्। हामीले कुनै डिलका लागि हतार गर्न चाहेका छैनौं किनभने यसमा धेरै मानिसहरुको हित जोडिएको हुन्छ। यसको वास्तविक असर सर्वसाधारणलाई दीर्घकालीन रुपमा उनीहरुको आर्थिक अवस्थामा पर्नेछ। त्यसैले हामी कुनै आर्टिफिसियल डेड लाइन तय गर्न चाहँदैनौं।'

नयाँ दिल्लीमा हुने तय भएको मोदी र ट्रम्पबीचको ट्रेड टक्समा कुनै ठूलो  ट्रेड डिल भएमा भने दुबै देशका लागि यो सरप्राइज हुनेछ । (एजेन्सीहरुको सहयोगमा)