सञ्चालकबीचको झैझगडाले भैरवकुण्ड परियोजना लिलाम गर्दै बैंक, ब्यक्तिगत रुपमा तिर्न तयार

बिजमाण्डू
२०७६ फागुन ८ गते ०९:२२ | Feb 20, 2020
सञ्चालकबीचको झैझगडाले भैरवकुण्ड परियोजना लिलाम गर्दै बैंक, ब्यक्तिगत रुपमा तिर्न तयार


काठमाडौं। ४० करोड रुपैयाँ हाराहारी ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर कम्पनी लिमिटेड लिलाम हुने भएको छ। ऋण उठाउने प्रक्रिया सुरु गरेका बैंकहरुले पैसा नउठेपछि अन्तत: लिलामी गर्न लागेका हुन्।

Tata
GBIME
Nepal Life

तीन मेगावाट क्षमताको परियोजना सिन्धुपाल्चोकको तातोपानीमा छ। परियोजनामा चार वर्षदेखि सञ्चालन भएपनि अहिलेसम्म पैसा तिर्न सकेको छैन। जलविद्युत परियोजना नै लिलामीमा पर्न लागेको सम्भवतः यो पहिलोपटक हो।

परियोजनामा संलग्न सञ्चालकहरुबीच झैझगडा भएपछि वित्तीय ब्यवस्थापन कमजोर भएको हो। ब्यक्तिगत रूपमा आफ्नो भागमा परेको ऋण तिर्न सञ्चालकहरु तयार देखिए पनि सामुहिक रूपमा आएर तिर्न भने कोही पनि तयार छैनन्। सञ्चालक तथा प्रवर्द्धकहरुसँग भने ब्यक्तिगत रूपमा अर्बौको सम्पत्ति छ।

सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू (बिओके), एनएमबि, एनआइसी एसिया, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमइ बैंकले परियोजनालाई ऋण दिएका हुन्। ऋण नउठेपछि सबै बैंक तथा वित्तीय संस्थाले ऋणको नोक्सानी ब्यवस्थापन गरिसकेका छन्।

'सहवित्तीयकरण कर्जा लिएकोमा सहभागी बैंक तथा वित्तीय सस्थाहरुलाई समयमा तिर्नुपर्ने साँवा, ब्याज, किस्ता रकम नतिरी, नबुझाइ कर्जा सम्बन्धी सर्त उल्लंघन गर्न भएकोले लिलाम बिक्रीमा राखिएको छ,' सूचनामा भनिएको छ।

बैंकले सञ्चालकहरुलाई ऋण तिर्ने भरपर्दो प्रस्ताव ल्याउन पनि भनेको थियो। उनीहरुलाई गत आइतबारसम्मको समय दिइएको थियो। तैपनि कुनै प्रस्ताव ल्याउन सकेनन्। अन्तत: बैंकले सम्पति लिलाम गर्ने निर्णय गरेको हो।

परियोजना खरिद गर्न चाहनेले १५ दिनभित्र प्रस्ताव पेस गर्ने पर्ने छ। परियोजनामा बैंकहरुको ४० करोड ऋण छ। यो ऋण अर्को पक्षले किन्दा नउठेमा सञ्चालक तथा प्रवर्द्धकहरुको जायजेथाबाट उठाउने बैंकले जनाएको छ।

बैंकको पाँच सदस्यीय सञ्चालकमा सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन रमण शर्मा र पदमबहादुर श्रेष्ठ छन्। यसबाहेक अर्जुनबहादुर थापा, साङ्वु सेर्पा, डोरबहादुर भण्डारी, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली र सुरेश श्रेष्ठ ब्यक्तिगत जमानीकर्ता छन्।

राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खड्का, कमलकुमार श्रेष्ठ, सीताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्चु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधीरप्रसाद तिमिल्सिना, विष्णुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवराम श्रेष्ठ र मुकुन्दप्रसाद तिमिल्सिना जमानीकर्ता छन्।

संस्थागत जमानीकर्तामा सामना मल्टिपल इन्भेष्टमेन्ट, सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी प्रालि, एमएनके ग्रुप प्रालि, मल्ली मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था छन्। तिमिल्सिना र सहकारी भने पछि छिरेका लगानीकर्ता हुन्।

अपारदर्शी वित्तीय विवरण रहेको र सञ्चालन क्षमता नभएका कारण परियोजना समस्यामा परेको हो। बैंकले ४० करोड रुपैयाँ पाएमा परियोजना अर्को समूहलाई जिम्मा दिने छ। यो त्यही सहकारी हो, जसले चर्चित गायक रामकृष्ण ढकालको घर लिलामी गरेको थियो।