आर्थिक वृद्धि लक्ष्यअनुसार हुँदैन भन्नेलाई अर्थमन्त्रीको जवाफ: दशमलवमा बहस हुन थाल्यो

बिजमाण्डू
२०७६ फागुन ५ गते १३:४३ | Feb 17, 2020
आर्थिक वृद्धि लक्ष्यअनुसार हुँदैन भन्नेलाई अर्थमन्त्रीको जवाफ: दशमलवमा बहस हुन थाल्यो


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि घट्छ भन्ने सन्दर्भमा भइरहेको बहसको आलोचना गरेका छन्। उनले हिजो आफू राज्य सञ्चालनमा हुँदा काम गर्न नसक्नेहरुले आज सरकारको आलोचना गरिरहेको बताए।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री खतिवडाले चालु वर्षको बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएपछि आर्थिक वृद्धि साढे ८ प्रतिशत नपुग्ने बहस सुरु भएको छ। योजना आयोगले त ६ प्रतिशतभन्दा कम हुने आँकलन नै गरिसकेको छ।

पूर्व अर्थमन्त्री तथा अर्थशास्त्रीहरुले बजेटको आकार घटेको सन्दर्भमा आर्थिक वृद्धि लक्ष्यअनुसार हासिल नहुने, ६ प्रतिशतको हाराहारी हुने बताउन थालेका छ्न।

उनीहरुलाई लक्षित गर्दै अर्थमन्त्री खतिवडाले सोमबार एक कार्यक्रममा भने- हिजोआज टेलिभिजनहरुमा केही अनुहार देख्छु, प्रशासन चलाएर दशकौं बसेकाहरु जसले औसतभन्दा माथि केही काम गरेनन्, उनीहरुले सरकारको कामको आलोचना गरिरहेका छन्।

उनले अहिले दशमलवमा बहस चलिरहेको भन्दै आफ्नो बचाउ गरे। 'दुई वर्षमा हामीले औसतभन्दामथि उपलब्धि हासिल गरेका छौं। तर अहिले यहाँ दशमलवको बहस चलेको छ,' खतिवडाले भने, '६ प्रतिशत भनेको मूल्यवृद्धि ६ दशमलव ४ प्रतिशत भयो, सरकारले बर्बाद गर्‍यो भनेर बहस भइरहेको छ।' 

उनले कुनैबेला ६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशत मूल्यवृद्धि हुँदा पनि समाज चुप लागेको बसेको बताए। 'अहिले पोइन्ट फोरमा बहस अगाडि बढिरहेको छ। त्यसैले बुझ्नुस् न हामी कति लक्ष्यको नजिक पुगेका छौं भनेर,' खतिवडाले भने।

उनले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस छेडिरहेको पनि आरोप लगाए। '८ नहुँदा ६/७ प्रतिशत हुन्छ भनेर उहाँहरू कुरा गर्नु हुन्छ। बहसको स्तरै अब ६ भन्दा माथि पुगिसक्यो। ३/४ प्रतिशतको कुरै गर्न छाड्नु भयो उहाँहरू,' खतिवडाले भने।

उनले आफू राज्य सञ्चालनमा हुँदाखेरी चार प्रतिशत पनि आर्थिक वृद्धि नपुगेको अनुभव बोकेर बाहिरिनु परेको भन्दै नाम नलिइ पूर्व अर्थमन्त्री डा. रामशरण महतको आलोचना गरेका छन्। महतले समीक्षापछि बजेटको आकार घटाएर साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने भन्दै सरकारले तथ्यांक छेडछाड गरेको आरोप लगाएका थिए।

'सरकारले एक पक्षीय ढंगले यो कुरा राखिराखेको होइन। अंक पनि बोल्छन्, अनुभुति पनि बोल्छन् र त्यसको प्रभाव पनि बोल्छन्,' सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै खतिवडाले भने। 

उनले आर्थिक वृद्धि ८ प्रतिशत हासिल नभए पनि ६/७ प्रतिशत हुने संकेत गरे।