सुन तोलाको ७५ हजार रूपैयाँ पुग्यो, चाँदी पनि उकालो, पुरानै सुन गालेर गहना बनाउँदै ग्राहक

बिजमाण्डू
२०७६ माघ ९ गते १२:४५ | Jan 23, 2020


काठमाडौं। सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेर प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भएको छ।  बुधबार सुन प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको थियो।

Tata
GBIME
Nepal Life

बिहीबारका लागि तेजाबी सुनको मूल्य प्रतितोलामा ७४ हजार ७ सय रूपैयाँ कायम भएको छ। त्यस्तै सुनको मूल्यमा ५ रूपैयाँले वृद्धि भइ प्रतितोला ८ सय ८५ रूपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्यले सुनको भाउ बढ्नुमा अमेरिका र इरानबीच जारी विवाद नै प्रमुख कारण भएको बताए। ‘डलरको मूल्य खासै बढेको छैन, तर सुनको मुल्यमा वृद्धि  भएको छ । कारण, अमेरिका र अन्य देशसंग को विवाद नै हो,’ उनले भने।

अमेरिका र इरानबीच विवाद सुरू भएसँगै अस्थिरता देखिएको सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर हुन सकेको छैन। इरान र अमेरिका बीच जारी विवाद मात्रै नभइ अन्य मुलुकहरूसँग पनि अमेरिकाको व्यापारिक युद्ध पनि कारक भएको व्यवसायी बताउँछन्।

शाक्यका अनुसार सिजनमा पनि कारोबार बढेको छैन। उपभोक्ताले नयाँ सुन खरिद गर्नु भन्दा पुरानै सुनको प्रयोग गरिरहेका छन्। हाल बजारमा दैनिक १० केजी मात्रै सुनको माग भएको उनले बताए।