फागुन १९ गतेदेखि नेपाल वायुसेवा निगमको काठमाडौं-नारिता उडान, दुईतर्फी भाडा ८० हजार रुपैयाँ

बिजमाण्डू
२०७६ माघ ६ गते १२:३२ | Jan 20, 2020
फागुन १९ गतेदेखि नेपाल वायुसेवा निगमको काठमाडौं-नारिता उडान, दुईतर्फी भाडा ८० हजार रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं।  नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान बन्द गरेर फागुन १९ गतेदेखि नारिता विमानस्थलबाट उडान थाल्ने भएको छ।

ओसाका उडानका लागि निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याप) सँग ग्राउण्ड ह्यान्डलिङको सम्झौंता गरिसकेको छ भने कन्ट्री म्यानेजरका रूपमा सुलेख मिश्रलाई नियुक्त गरिसकेको छ। ‘हामीले नारिता उडानका लागि सबै तयारी पूरा गरिसकेका छौं। नारिता उडानपछि हामीले ओसाका उडान सस्पेन्ड गर्छौं। त्यसको केही समयपछि उडान बन्द गर्नेछौं,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले बिजमाण्डूसँग भने।

ओसाका टोकियो भन्दा टाढा रहेकाले नेपालीका लागि अपायक थियो। नारिता टोकियो नजिकै पर्ने भएकाले नेपालीहरूका लागि सहज विमानस्थल हो। टोकियो वरपर धेरै नेपाली बस्ने भएकाले नारिता उडान निगमका लागि वित्तीय हिसाबले राम्रो हुने अपेक्षा गर्न सकिन्छ। काठमाडौं-नारिता उडानको टिकेटिङका लागि निगमले पब्लिक सर्भिस एजेन्ट(पीएसए) नियुक्त गरिसकेको छ। निगमले जनरल सेल्स एजेन्ट(जीएसए) नियुक्त नगरि धेरैबाट टिकट बिक्री गर्न पीएसए नियुक्त गरेको हो।

सुमेघ टुर्स एण्ड ट्राभलका सञ्चालक मेघ केसीले निगमको एयरबस-३३० का लागि काठमाडौं- नारिता उडान लामो दूरीको ‘वेष्ट डेष्टिनेसन’ हुने दाबी गरे। सुमेघले काठमाडौं- नारिता उडानको पीएसए पाएको छ।

 ‘लामो दूरीका लागि उपयुक्त जहाज एयरबस-३३० का लागि नारिता उडान सबैभन्दा राम्रो गन्तब्य हो। त्यसमा पनि एक लाख नेपाली रहेको जापानमा यो उडान वित्तीय रूपमा राम्रो हुने विश्वास गर्न सकिन्छ,’ उनले बिजमाण्डूसँग भने,’त्यहाँबाट जापानी नागरिकलाई समेत नेपाल ल्याउन सकिन्छ।’ जेक्यापले एयरबस-३३० को सेफ्टी जाँच समेत गरिसकेको छ। ‘जापानीहरू सेफ्टीलाई पहिलो प्राथमिकता दिन्छन्। सेफ्टीको प्वाइन्ट अफ भ्यूबाट समेत यो जहाज उपयुक्त भएकाले उनीहरुलाई ल्याउन सकिन्छ,’ केसीले भने, ’नारिता उडान निगमका लागि टर्निङ प्वाइन्ट हुने विश्वास मैले लिएको छु।’

लामो दूरीमा उडान गर्ने गरि निगमले ल्याएको जहाज अहिले छोटो दूरीमा उडान भरिरहेको छ। भारत, मलेसिया र दुबइ लगायतका छोटो दूरीमा निगमले उडान भर्दा त्यसबाट आर्थिक रूपमा फाइदा पाउन सकेको छैन। निगमले काठमाडौं-नारिता उडानका लागि एकतर्फी भाडादर ४० हजार रूपैयाँ र दुईतर्फी भाडादर ८० हजार रूपैयाँ तोकेको छ।

निगमले फागुनदेखि सोमबार, बुधबार र शुक्रबार काठमाडौंबाट नारिता सीधा उडान गर्नेछ। दुईतर्फी उडानको समय १४ घण्टा लाग्नेछ। निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले नारिता उडानको योजना बनाएका थिए। तर कार्यकारीका हैसियतमा आएका अध्यक्ष मदन खरेलले नारिता उडानलाई थाँती राख्दै अपायक पर्ने ओसाका उडानलाई प्राथमिकतामा राखे।