सिमेन्टमा ४३ र ५३ ग्रेडको गुणस्तर: कसरी बन्छ यो सिमेन्ट? घर बनाउँदा कुन ग्रेडको प्रयोग गर्ने?

बिजमाण्डू
२०७६ माघ ५ गते १६:२५ | Jan 19, 2020
सिमेन्टमा ४३ र ५३ ग्रेडको गुणस्तर: कसरी बन्छ यो सिमेन्ट? घर बनाउँदा कुन ग्रेडको प्रयोग गर्ने?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले ‘स्ट्रेन्थ’ बढी भएको सिमेन्टको गुणस्तर निर्धारण गरेको छ।

गुणस्तर परिषदको १०२ औं बैठकले ओपिसी सिमेन्टको ४३ र ५३ ग्रेड गुणस्तर निर्धारण गरेको हो। अहिले केही उद्योगले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गरेपनि ग्रेड लेख्न पाएका थिएनन्। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओपिसी सिमेन्टमा ३३ ग्रेडलाई यथावत राख्दै नयाँ गुणस्तर निर्धारण गरेको बताए।

‘अहिलेसम्म ३३ ग्रेड मात्रै थियो। अब उद्योगले बढी स्ट्रेन्थ भएको सिमेन्ट उत्पादन गरेमा ४३ र ५३ ग्रेड पाउँछन्,’ उनले भने,’सिमेन्ट उद्योगले फेरि गुणस्तरमा आवेदन दिनुपर्छ। उनीहरुको गुणस्तर जाँच गरेपछि नयाँ ग्रेड तोकिन्छ।’ नेपाल गुणस्तर इजाजत ०४९ अनुसार पाएका थिए भने अब नयाँ ग्रेडमा जाँदा 'एनएस ५७२' पाउनेछन्।

उनका अनुसार नयाँ ग्रेडको सिमेन्ट बजारमा ल्याउँदा बोरामा निश्चित 'कलर कोड' राख्नुपर्नेछ। ‘उपभोक्ताले स्ट्रेन्थ बढी भएको सिमेन्ट प्रयोग गर्न पाउने वातावरण तयार गर्न हामीले बोरामै 'कलर कोड' हाल्न लगाउनेछौं,’ पुडासैनीले भने, ’उपभोक्ताले तिरेको पैसाअनुसार सामान पाउने वातावरण तयार गर्न खोजेका हौं।’

 सिमेन्ट उद्योगीले समेत विभागले दुईवटा नयाँ ग्रेड निर्धारण गरेको सकारात्मक रूपमा लिएका छन्। अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले सिमेन्टको गुणस्तरका आधार छुट्याउन सहयोग पुग्ने बताए। ‘नयाँ ग्रेडले सिमेन्टको गुणस्तरलाई समेत यसले बढावा दिन्छ। सिमेन्टको बजार विस्तारका लागि सहयोगी हुन्छ,’ उनले भने।

उनका अनुसार अहिले पनि धेरै उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गरिरहेका छन्। ’४३ ग्रेडभन्दा माथिकै सिमेन्ट उत्पादन भइरहेको छ। तर बोरामा लेख्न नपाएकाले समेत भन्न मिलेको थिएन,’ मुरारकाले भने, ’अब ग्रेडका लागि निवेदन दिएर आफ्नो उत्पादनको गुणस्तरसहित बिक्री गर्ने सकिन्छ।’

४३ र ५३ ग्रेड सिमेन्ट कसरी उत्पादन हुन्छ ?

यी दुवै ग्रेडका सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुंगा र कोइला राम्रो हुनुपर्छ। त्यो चुनढुंगालाई जति बढी पोल्यो त्यसको स्ट्रेन्थ बलियो हुन्छ।

तर अहिले सबै उद्योगले लागत घटाउनका लागि चुनढुंगा कम पोलेर समेत बजारमा सिमेन्ट उत्पादन गरेर पठाइरहेका छन्। ‘सिमेन्ट उत्पादनका विभिन्न फेज हुन्छन्। ती उत्पादनका चरणमा लाइमस्टोनलाई हाइ टेम्प्रेचर दिएर सिमेन्ट उत्पादन गर्दा त्यसको स्ट्रेन्थ बढी हुन्छ। त्यसमा कोइला पनि उच्च गुणस्तरको हुनुपर्छ,’ विभागका महानिर्देशक पुडासैनीले भने, ‘त्यो प्रक्रिया पूरा गरेर उत्पादन गरेका सिमेन्टले ५३ ग्रेड पाउँछन्। त्यस भन्दा कम गरेर उत्पादन भएकाले ४३ ग्रेड पाउँछन्।’

पछिल्लो समयमा स्थापना भएका सिमेन्ट उद्योगको ४३ ग्रेडकै ओपिसी सिमेन्ट उत्पादन गरिरहेका छन्। ती सामान्यतया व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ। ५३ ग्रेडका सिमेन्ट भने पुल, हाइराइज बिल्डिङ र जलविद्युत निर्माणमा प्रयोग हुन्छ।