धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त ढुंगाना को हुन् ? ३५ वर्षको बैंकिङ अनुभव, पुस्तक पनि प्रकाशित

बिजमाण्डू
२०७६ पुष २२ गते ०८:५८ | Jan 7, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगानालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको विज्ञ सदस्य छन्। बैंकिङ तथा अर्थतन्त्र, बैंक नियमन तथा सुपरिवेक्षण, विदेशी मुद्रा ब्यवस्थापन, वित्तीय क्षेत्र सुधार र पूँजी बजारका उनी विज्ञ मानिन्छन्।

मोरङका  ढुंगानाले लन्डनको एक विश्वविद्यालयबाट एमबीए गरेका छन् भने उनीसँग त्रिभूवन विश्वविद्यालयको अर्थशास्त्रको डिग्री पनि छ। उनले त्यसअघिको पढाइ विराटनगरको महेन्द्र मोरङ कलेजबाट गरेका हुन्।

ढुंगाना राष्ट्र बैंकमा जानुअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा जागिरे थिए। सहायक पदबाट जागिर सुरू गरेका उनले त्यहाँ पाँच वर्ष बिताएका थिए। 

त्यसपछि राष्ट्र बैंकमा अधिकृतमा नाम निकालेर उनी नियामकीय भूमिका पुगे। २०६२ सालमा उनी निर्देशक भए। २०७० सालमा उनी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। केही महिनाअघि अवकाश भएका उनी अर्को नियामक बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका थिए। 

उनको 'सस्टेनिबिलिटी अफ पब्लिक डेब्ट इन नेपाल' नामक पुस्तक प्रकाशित छ। 

ढुंगाना आगामी गभर्नरको दौडमा पनि लागेका थिए। उनले वित्तीय क्षेत्रको नियामकमा चर्कौ प्रतिस्पर्धा देखेपछि पुँजी बजारको नियामक प्रमुखका लागि आवेदन दिएका थिए। आठ जनाले दिएको आवेदनमा ढुंगानालाई सरकारले नियुक्ति दिएको हो। उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।