जिएसएम सेवा पुगेपछि नेपाल टेलिकमको वाई म्याक्स सेवा बन्द हुँदै, आम्दानी घटेर चार करोडमा झर्यो

बिजमाण्डू
२०७६ पुष २ गते १७:४० | Dec 18, 2019
जिएसएम सेवा पुगेपछि नेपाल टेलिकमको वाई म्याक्स सेवा बन्द हुँदै, आम्दानी घटेर चार करोडमा झर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले वाई-म्याक्स सेवा बन्द गर्ने भएको छ। इन्टरनेट नपुगेका क्षेत्रमा सेवा पुर्‍याउन सुरु गरिएको यो सेवा जिएसएम सेवा पुगेपछि टेलिकमले बन्द गर्न लागेको हो।

जिएसएम सेवा नभएका क्षेत्रमा सीडीएमए सेवासहित वाइ-म्याक्स सेवा सुरू भएको थियो। पछिल्लो समय यो सेवाको माग हुन छाडेको छ भने आम्दानी पनि घट्दै गएको छ।

डाटामा आधारित यो सेवा दुर्गम जिल्लामा प्रभावकारी मानिएको थियो। तर आइएसपी, फाइबर लिकं र जिएसएम सेवाको पहुँच बढेपछि यो सेवा विस्थापित हुन पुगेको हो। टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले टेलिकमले सेवा बन्द गर्न लागेको जानकारी दिइन्।

देशभरि वाइ-म्याक्स सेवा लिने ग्राहक १८ हजार २ सय ८४ छन्। आव ०७४/७५ मा ६ करोड ३६ लाख ६३ हजार २ सय २१ आम्दानी गरेको वाइ-म्याक्सले गत आव ०७५/७६ झण्डै दुई करोड घटेर ४ करोड ३९ लाख ८९ हजार ५ सय ५३ मात्रै आम्दानी भएको छ।

यसरी आम्दानी घट्न थाले पछि टेलिकमले यो सेवा बन्द गरि सोही फ्रिक्वेन्सीमा जिएसएम सेवा सुरू गर्न लागेको हो। टेलिकमले वाइ-म्याक्स सेवाका लागि पाएको २.४ ब्याण्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीलाई एलटीइ प्रविधि(फोरजी) प्रविधिमा कन्भर्ट गर्न लागेको हो। हाल ८ सय र १८ सय ब्याण्ड प्रयोग गरिरहेको टेलिकमले एलटीइ प्रविधिमा २३ सय ब्याण्ड  प्रयोग गर्न लागेको छ।

यो प्रविधिमा जिएसएम सेवा सञ्चालन गर्न दूरसञ्चार प्राधिकरणसँग स्वीकृति पनि पाइसकेको प्रवक्ता बैद्यले बताइन। उक्त ब्याण्डबाट जिएसएम सेवा सञ्चालन गर्दा रोयल्टी रकम भने बढी तिर्नुपर्छ। अहिले टेलिकमको एफटीटीएच को माग बढि छ।

सुरूमा धेरै स्थानमा सीडीएमए बीटीएस पुगेको थियो भने जिएसएम बीटीएस पुगेको थिएन। जिएसएम सेवा पुगेपछि सीडीएमए प्रविधि विस्तारै बन्द हुँदै गयो।  धेरै फिचर सहितका प्रविधिको माग बढ्यो, तर यो सेवामा फिचर थप गर्न नसकिएकाले आकर्षण कम भएको वैद्यले बताइन्। उनका अनुसार ग्राहक नै सिफ्ट हुन थालेपछि टेलिकमलाई आर्थिक भार बढ्न थालेको थियो।