४०० केभी ढल्केबर सबस्टेसन निर्माण पुसभित्रै सम्पन्न, १००० मेगावाट आयात निर्यात गर्न सकिने

बिजमाण्डू
२०७६ मंसिर १९ गते १६:५३ | Dec 5, 2019
४०० केभी ढल्केबर सबस्टेसन निर्माण पुसभित्रै सम्पन्न, १००० मेगावाट आयात निर्यात गर्न सकिने


काठमाडौं। ४ सय केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो। 

Tata
GBIME
Nepal Life

नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने विद्युत प्रधिकरणले जनाएको छ। मुलुकभित्र खपत हुन नसकेको विद्युत भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘सबस्टेसनमा रहने ट्रान्सफर्महरको क्षमता ९४५ केभीए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, निर्देशक घिसिङले भने वर्षायाममा बढी भएको खण्डमा  ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुनेछ ।

माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने तयारी छ ।

यो आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। खिम्ती– ढल्केबर प्रसारण लाइन यसअघि नै संचालनमा आइसकेको छ ।सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।  

सबस्टेसनमा रहने तीनवटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुईवटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ । यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ । सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्छ ।

नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ।