लगानीकर्ताले डुबाए २ वर्षमा ४ खर्ब रुपैयाँ, शेयर बजार गतिहीन, ‘नियामक निकायको हस्तक्षेप जरूरी’

बिजमाण्डू
२०७६ मंसिर १९ गते १२:३२ | Dec 5, 2019
लगानीकर्ताले डुबाए २ वर्षमा ४ खर्ब रुपैयाँ, शेयर बजार गतिहीन,  ‘नियामक निकायको हस्तक्षेप जरूरी’

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई वर्षदेखि शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ । बेला बेलामा बजारले गति लिने प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन ।

बजार सुधारका लागि सक्रियता नदेखाएको भन्दै सरकार र नियामकसँग लगानीकर्ता आक्रोशित छन् । बजार घट्दो लयको प्रत्यक्ष असर लगानीकर्तालाई परेको देखिएपनि यसको असर चौतर्फी रूपमा परेको भन्दै सुधारका लागि सरोकारवाला निकायको सक्रियता आवश्यक देखिएको विश्लेषकहरूले बताएका छन् ।  

शेयर बजारको कुल बजार पुँजीकरणका हिसाबले दुई वर्षमा लगानीकर्ताले चार खर्ब गुमाएका छन् । शेयर बजारसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका  निकायहरू नेपाल धितोपपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँगै ब्रोकर कम्पनीका नाफा पनि संकुचित हुँदै गएको कारोबारका तथ्यांकले देखाएका छन्।

शेयर बजारमा ठुला लगानीकर्ताका रूपमा चिनिएका संस्थागत लगानीकर्ताको नाफा अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएको छ । दोस्रो बजारमा ठुला लगानीकर्ताका रूपमा रहेका बिमा र  इन्भेस्टमेन्ट कम्पनी लगायतको नाफासमेत संकुचित हुँदा समग्र अर्थतन्त्रमै त्यसको प्रत्यक्ष असर पर्न थालेको शेयर विश्लेषक तथा पूर्वबैंकर अनलराज भट्टराईको विश्लेषण छ । 'शेयर बजार घट्दा दोस्रो बजारका लगानीकर्ता मात्रै होइन समग्र अर्थतन्त्रमै त्यसको असर देखिन थालेको छ,' उनले भने ।

यतिबेला नेपाल स्टक एक्सचेन्जमा सूचीकृत संस्थाको कुल बजार पुँजीकरण समग्र देशको कुल ग्राहस्थ उत्पादनमै ठुलो अन्तर देखिन थालेको भट्टराईले बताए । 'यस्तो देखिनु भनेको समग्र देशको अर्थतन्त्र चलायमान छैन भन्ने संकेत हो,' उनले भने।

आर्थिक वर्ष २०७५/७६ मा देशको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब रूपैयाँ थियो। जबकि त्यही वर्ष शेयर बजारको कुल बजार पुँजीकरण १६ खर्ब २८ अर्ब रहेको थियो । यतिबेला शेयर बजारको कुल बजार पुँजीकरण साढे १४ खर्बको हाराहारीमा छ । गत वर्ष शेयर बजारको कुल बजार पुँजीकरण र देशको कुल ग्राहस्थ उत्पादनमा ४७.०१ प्रतिशतको फरक रहेको थियो । जुन अर्थतन्त्रका लागि राम्रो संकेत नभएको भट्टराईले बताए ।

'सामान्यतः स्टक मार्केटको कुल बजार पुँजीकरण र जीडीपी हाराहारीमा हुनुपर्छ,' उनी भन्छन्।  विकसित मुलुकहरूमा कुल ग्राहस्थ उत्पादनभन्दा कुल बजार पुँजीकरण नै बढी हुने गरेको छ। 'डेभलप कन्ट्रीमा अझ स्टक क्यपिटलाइजेसन माथि हुन्छ,' उनले भने, 'जसले बजार चलायमान छ भन्ने जनाउ दिन्छ।'

 शेयरको मूल्य घटेका कारण शेयर बजारको कुल बजार पूँजीकरण घटेको हो । शेयरको मूल्य नबढी बजार पुँजीकरण बढ्दैन । शेयरको मूल्य बढ्न लगानीकर्ताले शेयर मूल्य बढाएर खरिद गर्नुपर्छ । मूल्य बढाएर शेयर खरिद गर्ने आँट यतिबेला लगानीकर्तासँग छैन । कुनै पनि सामानको भविष्यमा मूल्य बढ्न सक्छ भन्ने अनुमानको आधारमा व्यवसायीले लगानी गर्छन् ।

भाउ बढ्ने निश्चित नहुन्जेल व्यवसायीले लगानी गर्दैनन् । शेयर बजार हाल यस्तै अवस्थामा रहेको विश्लेषण भट्टराईको छ । किनकि यतिबेला प्राथमिक बजारमा जलविद्युत कम्पनीको शेयर समेत नबिक्ने अवस्था छ भने दोस्रो बजारमा उनीहरूको शेयर आफूले लगानी गरेको मूल्यभन्दा कममा पाइएको अवस्था छ । यस्तै दोस्रो बजारमा राम्रा कम्पनीको समेत मूल्य निकै कम छ । जसले गर्दा लगानीकर्ताले लगानी गर्न चाहिरहेका छैनन् ।

'लगानीकर्ताले शेयर मूल्य बढाएर खरिद गर्न नचाहेको कारण चाहिँ 'मार्केट नर्भसनेस' मा गएकाले हो,'  भट्टराईले भने, 'बजारमा उत्साह कम हुनु, लगानीकर्ताको मनोबल नबढ्नुका कारणले मूल्य बढाउन नसकेको देखिएको छ ।'

प्रतिफलका लागि ढुक्क नभएसम्म लगानीकर्ताले मूल्य बढाउँदैनन् । शेयरको मूल्य नबढेसम्म बजार पुँजीकरण बढ्दैन । बजार पुँजीकरण नबढेसम्म कुल ग्राहस्थ उत्पादन र कुल बजार पुँजीकरण अन्तर कम हुँदैन । यो अन्तर कम नभएसम्म बजार चलायमान छ भन्नै नसकिने भट्टराईको तर्क छ ।

बजार चलायमान बनाउन, लगानीकर्ताको मनोबल वृद्धि गर्न सरकार र राष्ट्र बैकले सामान्य भूमिका खेले पुग्ने अर्का विश्लेषक नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष डा. आत्माराम घिमिरेको भनाई छ । जसका लागि केन्द्रीय बैकले ओभर ड्राफ्ट लोनलाई केही सहजीकरण गरिदिनु पर्ने उनको तर्क छ ।

किनकि सन् २०१५ सम्म बैंकको ओभर ड्राफ्ट लोन र शेयर बजारको सम्बन्ध पोजेटिभ रहने गरेको थियो । 'बैंकहरूमा ओभर ड्राफ्ट लोन बढेको बेला शेयर बजार समेत बढ्ने गरेको थियो भने कम भएको बेला शेयर बजार घट्दो अवस्थामा देखिन्थ्यो,' उनी भन्छन्, 'तर यतिबेला ठीक उल्टो अवस्थामा देखिन थालेको छ । यो राष्ट्र बैककै अध्ययनले देखाएको छ ।'

केन्द्रीय बैकले ओभर ड्राफ्ट लोन र मार्जिन प्रवृत्तिको कर्जामा गरेको कडाइले यस्तो भएको घिमिरेले बताए । 'बैंकले मार्जिन प्रवृत्तिको कर्जामा राखेको 'रिक्वारमेन्ट' कम गरिदिनु पर्छ,' उनी भन्छन्, 'यतिबेला बैंक आफैं त्यस्तो लगानीमा सजग हुन थालेका छन् । यसले गर्दा बजारलाई थोरै बुस्ट अप गर्न टेवा पुर्‍याउने छ ।'

लगानीकर्ताको मनोबल बढाउन सरकारले केही छुटका प्याकेज सार्वजनिक गर्नुपर्ने नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । 'सरकारले लाभांशको कर र अन्य आर्थिक गतिविधिबाट आम्दानी गर्न सक्छ,' उनी भन्छन्, 'पूँजीगत लाभकरले सरकारलाई खासै टेवा पनि पुगेको छैन । किनकि सरकारले पोहोर वर्षभरिमा जम्मा ६१ करोड पुँजीगत लाभकर उठाएको थियो, जसले सरकारको ढुकुटीमा खासै फरक पारेन ।'

बरू शेयर बजार घटेका कारण अन्य आर्थिक गतिविधि नै सुस्त हुँदा सरकारले भने जस्तो राजस्व समेत नबढेको उनले बताए । सरकारले दीर्घकालीन, अल्पकालीन र साना लगानीकर्तालाई छुट्टै करको व्यवस्था गर्नुपर्ने अर्यालको सुझाव छ । 'अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई कर छुट दिने, अल्पकालिक लगानीकर्ताको करको दर फरक गर्ने र साना लगानीकर्तालाई कर सम्पूर्ण कर छुट दिनुपर्छ', उनले भने, 'यति गरे लगानीकर्ताको कन्फिडेन्स बढाउन टेवा पुग्छ ।' यसले शेयर बजार चलायमान हुनुका साथै अन्य आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए ।