‘कर यात्रा’ कार्यक्रममा वीरगंजका मेयर सरावगीको प्रतिवद्धता –‘म एक पैसा पनि कर छल्दिन’

बिजमाण्डू
२०७६ कात्तिक २८ गते १०:०७ | Nov 14, 2019


वीरगंज। वीरगंजमा राजस्व कार्यालयले कर तिर्न प्रोत्साहित गर्न कर यात्रा कार्यक्रम गरेको छ। आन्तरिक राजस्व विभाग काठमाडौंले वीरगंज उद्योग वाणिज्य संघका सभाहलमा गरेको कर मैत्री यात्रा कार्यक्रममा वीरगंजका व्यवसायीहरुको बाक्लो उपस्थिती थियो।  कार्यक्रममा महानगरका मेयर विजयकुमार सरावगीले कर तिर्नुपर्छ भन्ने सबैलाई थाहा भएपनि बानी नबसेको बताए।

Tata
GBIME

मेयर सरावगीले आफुले अगामी दिनमा एक पैसा कर पनि नछल्ने प्रतिबद्धता समेत गरे ।‘मैले आजको कार्यक्रमबाट निकै प्रभावित भए,आफनो कार्यकालमा एक पैसा कर चोर्दिन,’उनले भने,‘अगामि पुस्तालाई पनि कर नचोरोस् भनी शिक्षा समेत दिनेछु ।’

उनले हरेक स्थानीयमा कर मैत्री शासन प्राणाली लागु गर्दा राज्यलाई फाइदा पुग्ने विश्वास समेत व्यक्त गरे । हालको परिप्रेक्षमा उद्योगी व्यवसायीले कर तिरेनन् भनी मात्र राज्यले निगरानी गर्दै आएको चर्चा गर्दै,उनले देश अहिले जनप्रतिनिधिहरुले हाँकिरहेकोले जनप्रतिनिधि तथा कर्मचारीहरुले गर्ने कर छलीमा पनि सरकार गम्भीर हुनु पर्ने जोड दिए ।

'राज्य सञ्चालनमा कर्मचारीहरुको सिन्डीकेटमाथि राज्यले लगाम लगाउन नीतिगत व्यवस्थापनमा जोड दिइनु पर्छ तथा कर छली र भ्रष्टाचार गर्ने जो कसैले पनि दण्डित गर्नु पर्ने आवश्यकता छ।'- उनले भने।

वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले  राजस्व संकलनको लागि स्रोतको पनि निर्धारण गरी राज्यलाई कर संकलन गर्नु पर्ने बताए ।

सरकारी अंगले कर दातालाई हेर्ने दृष्टिकोण गलत भएपनि सहकार्य गरी अघि बढदा राज्यलाई निकै फाइदा हुने उनको धारणा छ।

राज्यले कर चोर्ने व्यवसायीलाई दण्डीत गर्ने अधिकार न्यायलयलाई दिइनु पर्ने चर्चा गर्दै जोकसैलाई थुनेर कर असुल्ने परिपाटी बन्द गर्नुपर्ने पनि उनले बताए।  तीन सरकारबाट चलेको राज्यमा कुन सरकारको के नीति र कस्तो कर कहाँबाट लिने भन्ने विषयमा अहिले पनि द्विविधात्मक परिस्थिति रहेको उनको भनाई छ।

कार्यक्रममा सिस्नु पानी समुहका हास्यब्यङ्ग्य कलाकार मनोज गजुरेल,ममता कटुवाल,अर्जुन पराजुली,सरोज घिमिेर,धिरेन्द्र प्रेमर्षि,शिशिर  योगीलगायतले गीत,कुरान,प्रवचन,कविता,चुटकिलालगायतको माध्यमबाट कर तिर्न अभिप्रेरित गरेका थिए ।

कार्यक्रममा विभागका प्रमुख कर अधिकृत तुलसी चौलागाई, पर्साका सिडिओ नारायण भट्टराई, वीरगंजका उद्योगी व्यवसायी, भन्सार अधिकृत, कर अधिकृत विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती थियो।