मुख्यसचिव अर्याल स्वत: निलम्बनमा पर्दै, गड्तौलालाई निमित्तको जिम्मेवारी दिने तयारी

बिजमाण्डू
२०८१ असार ९ गते १४:५७ | Jun 23, 2024
मुख्यसचिव अर्याल स्वत: निलम्बनमा पर्दै, गड्तौलालाई  निमित्तको जिम्मेवारी दिने तयारी
लीलादेवी गड्तौला

काठमाडौं। सरकारले मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा परेपछि सरकारले लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी गरेको छ।

Tata
GBIME

अन्त:शुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्याललाई पनि प्रतिवादी बनाएपछि सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी गरेको हो। मुद्दा दायरपछि अर्याल स्वत: निलम्बनमा पर्नेछन्।

अन्त:शुल्क स्टिकर छपाइ प्रकरणमा मुख्यसचिव अर्याल, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य लगायतविरुद्ध मुद्दा दायर गर्न अख्तियारको टोली अहिले विशेष अदालतमा छ।

गडतौला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छिन्। उनी २०७७ मंसिर पहिलो साता सचिवमा बढुवा भएकी थिइन्। उनी कानुन समूहतर्फकी हुन्।

आन्तरिक राजस्व विभागले ४३ करोड ३२ लाख थान स्टिकर छपाइको जिम्मा विना प्रतिस्पर्धा सुरक्षण मुद्रण केन्द्रलाई दिंदा अर्याल सञ्चार सचिव र शाक्य विभागका महानिर्देशक थिए। सञ्चार मन्त्रालय मातहतको केन्द्रले भने निजी कम्पनीलाई विभागसँग ठेक्का लिएभन्दा प्रति स्टिकर २७ पैसा बढीमा निजी कम्पनीलाई छपाइको जिम्मा दिएको थियो।