
काठमाडौं । गैरकानुनी रुपमा ल्याइएको इलेक्ट्रिक चुरोट (भेप) सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। बिहीबार राति हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङबाट उनीहरू पक्राउ परेका हुन्।
मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालको नेतृत्वमा परिचालित टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ बस्ने बस चालक सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर ११ बस्ने प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ बस्ने ईन्द्रबहादुर दर्जी, सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका-१६ का राजकुमार हिमाङलाई नियन्त्रणमा लिएको हो।
काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई रोकेर जाँच गर्दा भारतीय नागरिकको साथमा भेप भेटिएको थियो। बसको पेसेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई अवैध रुपमा भेप राखिएको पाइएको थियो।
बसबाट २ करोड ७१ लाख २१ हजार ७ सय ८० रुपैयाँ बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धानका क्रममा काठमाडौंको बालाजु बसपार्कभन्दा माथि भत्केको पुल क्षेत्रको रमाइलो डाँडामा भेप लोड गरेको देखिएको छ।
उक्त बस केही व्यक्तिहरूले भाडामा लिई एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउन नेपालस्थित भारतीय दूतावासबाट असार ५ गते रोड परमिट लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरूलाई विभिन्न व्यक्तिका मार्फत सम्पर्क गरि ल्याइएको थियो।
बसमा सवार भई आएका यात्रुहरूलाई विश्वास दिलाउन नेपालबाट भारतको दिल्ली चल्ने बस हो भनि भिजिटिङ कार्डसमेत दिइएको खुलेको छ। थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ।