दुर्गममा उडान भर्ने तारा एयरको बजार हिस्सा दुई वर्षमा १६%ले घट्यो, ऋण बढी नाफा कम

बिजमाण्डू
२०७६ असोज २३ गते १४:३२ | Oct 10, 2019
दुर्गममा उडान भर्ने तारा एयरको बजार हिस्सा दुई वर्षमा १६%ले घट्यो, ऋण बढी नाफा कम

Tata
GBIME
Nepal Life

काठमाडौं। तारा एयरले एक अर्ब ६६ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। यो यति वर्ल्ड नेपाल अन्तर्गतको कम्पनी हो।

ताराले नेपाली रुपैयाँमा ९६ करोड ८४ लाख रुपैयाँ र अमेरिकी डलरमा ६१ लाख ६० हजार डलर कर्जा लिएको छ। आम्दानीको अनुपातमा ऋणको हिस्सा धेरै हुँदा उच्च किसिमको जोखिम जनाउने ‘इक्राएनपि एल वि’ र ‘इक्राएनपि ए फोर’ प्राप्त गरेको।

उक्त रेटिङले यदि वित्तीय अनुशासन कायम नगरे उक्त कर्जा उच्च जोखिममा रहने संकेत गर्छ। दुर्गम क्षेत्रमा आन्तरिक उडानमा तारा एयर एक नम्बरमा रहेपनि आम्दानीको अनुपातमा ऋणको हिस्सा धेरै हुँदा जोखिम बढेको हो। कम्पनीसँग पाँच वटा ट्विन अटर र दुई वटा डोर्नियर जहाज छ।

यति एयरसँग गाभिने चर्चा चल्दै गर्दा ताराले अधिकांश कर्जा अल्पकालिन रुपमा रेटिङ गराएको छ। यदि ताराले यो कर्जालाई दीर्घकालिन कर्जाको रुपमा रेटिङ गराएको भए राम्रो रेटिङ प्राप्त गर्न सक्थ्यो। नेपाली रुपैयाँमा लिएको कर्जा मध्ये ८३ करोड १३ लाख रुपैयाँ अल्पकालिन कर्जाको रुपमा रेटिङ गराएको छ।

विदेशी पर्यटकको भुक्तानी डलरमा लिने ताराले ६१ लाख ६० हजार डलर कर्जा नेपाली बैंकहरुबाटै लिएको छ। कम्पनीले दुई वर्षको अवधिमा कर्जा एक अर्ब ७३ करोड रुपैयाँबाट एक अर्ब ४० करोड रुपैयाँमा झारेको रेटिङ एजेन्सीले जनाएको छ।

आम्दानी राम्रो भए पनि ऋणको तुलनामा नाफा धेरै कम देखिन्छ। क्यास फ्लोमा केही समस्या देखिए पनि कम्पनीले बैंकहरुलाई समयमै व्याज भुक्तानी गरिरहेको छ।

यात्रुको चाप मध्यम किसिमको छ। एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ६५ देखि ७० प्रतिशतको अकुपेन्सी रहेको छ। पछिल्लो समय आन्तरिक उडान तर्फ अन्य हवाइ कम्पनीहरुले आफ्नो हिस्सा बढाउदै गर्दा ताराको बजार हिस्सा घट्दै गएको छ। दुई वर्ष अगाडि ताराको बजार हिस्सा ५८ प्रतिशत थियो। अहिले यस्तो हिस्सा ४२ प्रतिशतमा खुम्चिएको छ।

नेपालको आन्तरिक उडानमा १० वर्ष भन्दा लामो समय अनुभव छ।यो समूहको आर्थिक हैसियत बलियो भएका कारण कम्पनीले समयमा व्याज भुक्तानी गर्न र क्षमता भन्दा धेरै कर्जा लिएर सहजै रुपमा संचालन भइरहेको छ। तर व्यवस्थापकीय पक्ष भने कम्पनीको कमजोर देखिन्छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेकाले एयरलाईन्स कम्पनीहरुको लागि राम्रो अवसर हो। यसले कम्पनीको आम्दानी बढाउन सक्ने एजेन्सीले जनाएको छ।

नेपालको पर्यटन क्षेत्र राम्रो भएमा आन्तरिक उडान भर्न हवाई कम्पनीहरुको पनि व्यवसाय बढ्छ र जोखिम कम हुन्छ। वित्तीय अवस्था कमजोर रहेको तारा एयरलाईन्स बलियो ग्रुपले टिकिरहेको छ। एयरलाइन्सको नाफामा तिव्र उतार चढावले पनि केहि जोखिम सिर्जना गरेको छ।

विगत तीन वर्षको अवधिमा ताराको दुई वटा एयर क्राफ्ट दुर्घटना भएको थियो। यसले पनि कम्पनीको वित्तीय अवस्था थप खस्किएको हो। हाल ताराको चार वटा ट्विनअटर र दुई वटा डोर्नियर संचालनमा छन्।