काठमाडौं। नेपाल धितोपत्र बोर्डले शेयरको दोस्रो बजारमा हुने शंकास्पद कारोबारको विवरण तयार पार्न ब्रोकर कार्यालयहरुलाई निर्देशन दिएको छ।
१० लाख रुपैयाँभन्दा माथिको सम्पुर्ण कारोबारको विवरण पठाउँदै आएका ब्रोकरले अबदेखि कुनै कारोबार शंकास्पद लागेमा त्यसलाई छुट्टै ढंगले रिपोर्टिङ गर्नु पर्ने हुन्छ। यसलाई 'सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट- एसटिआर' भनिन्छ।
बोर्डले जारी गरेको सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनका आधारमा ब्रोकरले अब शंकास्पद कारोबारको छनौट सम्बन्धी बेग्दै कार्यविधि तयार पार्नु पर्नेछ।
कस्ता कारोबारलाई शंकास्पद मान्ने भन्ने विषयमा स्पस्ट नभएको हुँदा कार्यविधि तयार पार्न केही अप्ठ्यारो परेको ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए। उनले भने ‘शंकास्पद कारोबारलाई कसरी चिन्ने भन्ने विषयमा छलफल भैरहेको छ।’
उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्न ब्रोकर आफैले कार्यविधि तयार पार्नु पर्छ। बोर्डले तयार पारेको निर्देशन ऐन अनुसार नै भएको हुँदा बोर्डको निर्देशनका बुँदा हेरेर ब्रोकरले कार्यविधि तयार पार्न सक्ने छन्।
बोर्डका प्रवक्कत निरज गिरिले भने ‘यस अगाडि पनि ब्रोकरहरुले आफैले कार्यविधि तयार पारेर काम गर्दै आएका थिए। केहि व्यवस्था थपिएसँगै यसैका आधारमा कार्यविधि बनाउन सक्ने छन्।’
ब्रोकरले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई बुझाउँदै आएका थिए। दोस्रो बजारमा शंकास्पद कारोबार गर्नेहरुका लागि मात्रै यो नियम आकर्षित हुनेछ।
अब भने यो कारोबार शंकास्पद छ भनेर इकाइलाई भन्नु पर्छ। इकाइले आवश्यक विश्लेषण गर्छ। उसलाई पनि शंका लागेमा सम्पति सुद्धिकरण विभागलाई आवश्यक अनुसन्धानका लागि सिफारिस गर्छ। विभागको अनुसन्धानमा गढवढि भए अदालतमा मुद्दा जाने छ।