काठमाडौं। सेयर बजार निरन्तर बियरिस ट्रेण्डतर्फ जाने क्रम जारी छ। करिब १० महिना अघि इतिहासकै उच्चतम बिन्दुमा पुगेको बजार निरन्तर घट्दा अघिल्लो बुलको बिन्दुभन्दा तल ओर्लिइसकेको छ।
विज्ञहरुका अनुसार तत्काल तरलता सुधार हुने सम्भावना कम छ। कहिलेकाही सकारात्मक देखिए पनि दिनहुँ घट्दै बजार बियरिसतर्फ मोडिएको हो। यसरी बजार दिनहुँ घट्दा एकातिर लगानीकर्ताको लगानी डुबेको डुबेकै छ।
यसले गर्दा ब्रोकर कम्पनीले शाखा खोल्ने योजना समेत रोकेका छन्। 'बजारको स्थिति यस्तो छ, शाखा खोलेर मात्र पनि भएन। यो भोलुमले त जहाँ खोले पनि घाटामा नै चलाउनु पर्छ,' शाखा विस्तार गर्ने योजना बनाइरहेका ब्रोकर नम्बर ३५ का भरत रानाभाट भन्छन्, 'बजार सुधार नभएसम्म शाखा विस्तारमा उत्साहित हुने अवस्था रहेन।'
ब्रोकर नम्बर १७ का ब्रोकर नितेशकुमार अग्रवाल कारोबार घटेको समयमा शाखा विस्तार गर्नु उपयुक्त नहुने बताउँछन्। उनी भन्छन् 'बजार घटेर कारोबार पनि छैन। अहिले यस्तै दुई करोडदेखि बढीमा पाँच करोडको कारोबार हुन्छ। पछिल्लो बुलको समयमा २० देखि २२ अर्बसम्मको काम भएको हो।'
धितोपत्र बोर्ड पनि उदासीन
लामो समयदेखि शाखा विस्तारका लागि नेपाल धितोपत्र बोर्डमा धाइरहेका ब्रोकर कम्पनीहरुले अझै पनि सञ्चालनको अन्तिम स्वीकृति पाएका छैनन्। पूर्वाधार तयार गरिसकेको अवस्थामा पनि बोर्डबाट स्वीकृति पाउन नसकेको ब्रोकरहरुको गुनासो छ।
ब्रोकर नम्बर ११ का ब्रोकर परमेश्वर मल्लले भने 'नयाँ शाखाका लागि पूर्वाधार तयार भयो भनेर गतवर्षको कात्तिकमा नै बोर्डलाई पत्राचार गर्यौं। तर अहिलेसम्म उहाँहरु निरीक्षण गर्न आउनु भएको छैन। त्यत्रो खर्च भइसक्यो अहिलेसम्म।'
बोर्डले पूर्वाधार निरीक्षण गरेलगत्तै ब्रोकरहरुलाई शाखा विस्तारका लागि अन्तिम स्वीकृति दिने बताएको छ। केही समय नेतृत्वविहीन भएको बोर्डमा रोकिएर रहेका धेरै कामहरु गर्दागर्दै निरीक्षणमा ढिलो भएको बोर्डले जनाएको छ। तर गएको महिना पनि दुईवटा कम्पनीको शाखा निरीक्षण गरिसकेको बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताए।
'निरीक्षण हुँदै नभएको भन्ने त होइन, गएको महिना पनि दुईवटाको निरीक्षण भएको थियो,' उनले भने, 'त्यसमध्ये एउटाको सबै प्रक्रिया पुगेको छ। अर्को एउटाको तोकिएअनुसारको पूर्वाधार पुगेको छैन्।' चालु महिनाभित्रै बाँकी कम्पनीहरुको शाखाको निरीक्षण गरी स्वीकृति दिने पनि उनले बताए।
यस्तै बोर्डले पछिल्लो करिब डेढ वर्षमा विभिन्न ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा खोल्नका लागि सैद्धान्तिक सहमति दिएको छ। बोर्डका पूर्व अध्यक्ष भीष्मराज ढुंगानाले २०७७ सालमा १२ वटा ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा कार्यालयहरु खोल्न सैद्धान्तिक स्वीकृति प्रदान गरेका थिए।
'जसमध्ये ८ वटालाई काम नै सुरु गर्न स्वीकृति दिइएको छ,' सहायक प्रवक्ता केसीले भने,'बाँकी रहेका १५ वटाको पूर्वाधार निरीक्षण गर्न बाँकी छ। सम्भवतः यो असार भित्र निरीक्षण गरिसक्छौं।' निरीक्षणपछि पूर्वाधार पुगेको खण्डमा असारभित्रै सबैलाई अन्तिम स्वीकृति दिइने उनले बताए।
यस्तै बोर्डले गत चैतसम्म नुवाकोटको विदुर र बट्टार, कैलालीको टिकापुरमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्न स्वीकृति दिएको थियो।
यस अवधिसम्म बोर्डले रुपन्देहीको भैरहवा, दोलखाको चरिकोट, सिरहाको लहान, कैलाली जिल्लाको लम्की, नवलपुरको भुमही, पर्वतको कुश्मा, दाङको तुलसीपुर, इलामको इलाम बजार, पाँचथरको फिदिम र चितवनको भरतपुर गरी १० ठाउँमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालयका लागि आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको थियो।
हाल डिम्याट खाता ५२ लाख ४४ हजार पुगेको छ भने ४३ लाख ५४ हजार बढी 'मेरो शेयर' प्रयोगकर्ता छन्। ५० वटा धितोपत्र दलाल कम्पनी छन्। हालसम्म ५० ब्रोकर कम्पनीमध्ये विभिन्नका ४५ वटा शाखा कार्यालयहरु छन्।