काठमाडौं। यस वर्षको दशैंमा उपत्यकामा खसीबोकाको बिक्रीमा कमी आएको छ । प्रतिस्पर्धाका कारण मूल्य घटाउँदा पनि बिक्री नभएपछि बिक्री केन्द्रहरुबाट एक हजार खसीबोका फिर्ता भएको चौपाया खरिद बिक्री संघले जनाएको छ ।
हरेक वर्ष दशैंमा उपत्यकामा खाद्य संस्थान र निजी व्यवसायीहरुले खसीबोका ल्याएर बिक्री गर्दै आएका छन्। जसमा चौपाया खरिद बिक्री संघले यो पाली २५ हजार खसीबोका खरिद गरेर ल्याएको थियो । यसमा करिब १० हजार खसी भारतबाट ल्याइएको थियो। यो वर्ष संघले पनि ३० देखि ३५ हजार खसीबोका बिक्री हुने अनुमान गरेकोमा करिब २३ हजारवटा मात्र खसीबोका बिक्री भएको संघका व्यवस्थापक जीवनराज खतिवडाले बताए । दशैंमा खसीबोकाको बिक्रीमा प्रतिस्पर्धा बढेपछि आपूर्ति अनुसार खपत भएन ।
'चौपाया बिक्री केन्द्र भन्दा बाहिर खुद्रा खसी धेरै आए । खाद्य संस्थानले खसीबोका ल्याएर बिक्री गर्दा यसको असर नपरे पनि बाहिर खुद्रा बजारले गर्दा समस्या भएको हो ।'-उनले भने।
चौपाया केन्द्रबाट एक हजार खसीबोका बिक्री नभएपछि फिर्ता भएको छ । अन्य ठाउँबाट पनि खसीबोका बिक्री नभएर फिर्ता गएको छ । मागभन्दा सप्लाइ धेरै भयो । खसीबोका बिक्री नभएपछि व्यवसायीहरुले संघले तोकेको भन्दा मूल्य घटाएका थिए । केन्द्रले खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ३० रुपैयाँ देखि ७ सय ५० रुपैयाँसम्म तोकेको थियो।
पछि खसीबोका बिक्री नभएपछि व्यवसायीहरुले संघले तोकेको मूल्य घटाएर प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँसम्म बिक्री गरेका थिए । मूल्य घट्दा उपभोक्तालाई त राम्रो भयो तर ल्याएको सबै खसीबोका बिक्री नभएपछि किसान भने मारमा परे।
दशैंमा मुस्किलले करिब २३ हजार खसीबोका मात्र बिक्री भएको थियो । बाँकी एक हजार अझै चौपाया केन्द्रमै रहेको छ भने बाँकी एक हजार खरिद गरेको ठाउँमा फिर्ता पठाइएको थियो । यसअघिका वर्षहरुमा बजारमा खसीको अभाव हुने गर्थ्यो भने हाल आपूर्ति धेरै र बिक्री कम भएको छ। पहिलो पटक खसीबोका बिक्री नभएर फिर्ता नै लगिएको छ ।
गत बर्ष करिब ३५ हजार खसीबोका बिक्री भएको थियो भने मूल्य पनि बढी थियो। यो वर्ष बाहिरी प्रतिस्पर्धाले खसीको सप्लाइ धेरै भएको छ । उपत्यका नजिकका र अन्य जिल्लाहरुबाट किसानहरु आफैँले खसीबोका ल्याएर बिक्री गरेका छन्। बिक्री केन्द्रमा भन्दा बाहिर सस्तो मूल्यमा बिक्री भएपछि उपभोक्ताहरुले बाहिरै खरिद गरे ।
यसले गर्दा चौपाया बिक्री केन्द्रहरुमा पहिले भन्दा कम परिमाणमा खसीबोका बिक्री भएको छ । दशैंमा चौपाया केन्द्रले करिब ५५ करोड रुपैयाँको खसीबोका बिक्री गरेको केन्द्रले जनाएको छ ।
खाद्य कम्पनीले बेच्यो १९ सय ५९ खसीबोका
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा १९ सय ५९ वटा खसीबोका बिक्री गरेको जनाएको छ । कम्पनीले यो वर्ष २ हजार खसीबोका ल्याएर बिक्री गर्ने बताएको थियो। कम्पनीले लक्ष्यभन्दा ४१ वटा कम खसीबोका बिक्री गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन्।
'यसपाली घटस्थापनाको भोलिपल्टदेखि फूलपातीसम्म खसीबोकाको बिक्री भएको थियो । कम्पनीले चाँडै बिक्री थालेकोले खरिद भएको सबै खसीबोका बिक्री भएको छ । नबिकेर मूल्य घटाउनुपर्ने अवस्था आएन । उपभोक्ताबाट माग धेरै आए २५ देखि २६ सय वटासम्म खसीबोका बिक्री गर्ने भनिएको थियो । फूलपातीको दिनसम्मको माग हेर्दा परिमाण बढाउनु पर्ने देखिएन ।'- सूचना अधिकारी सुवेदीले बताइन्।
निजी व्यवसायीहरुले फूलपातीदेखि खसीबोका बिक्री सुरु गरेका थिए । यसले गर्दा कम्पनीले गत वर्षभन्दा धेरै बिक्री गरेको छ । गत बर्ष करिब १४ सय खसीबोका ल्याएर बिक्री गरेको थियो ।
च्याङ्ग्राको बिक्री पनि कम
चौपाया व्यवसायी संघका अनुसार मूल्य महंगिएपछि च्याङग्राको बिक्री कम भएको छ । दशैंको लागि करिब २५ सय च्याङग्रा ल्याउने भनिएपनि ६ सयमात्र च्याङग्रा खरिद गरेर ल्याएको व्यवस्थापक खड्काले बताए ।
'ल्याएको च्याङग्रामध्ये दशैँमा ४ सय वटामात्र बिक्री भयो । अझै दुई सयवटा च्याङग्रा बिक्री नभएर बाँकी छ । प्रतिकेजी १३ सय रुपैयाँ परेपछि च्याङग्राको मागमा कमी आएको हो। यसले गर्दा मूल्य घटाएर एक हजार देखि ११ सय रुपैयाँमा बिक्री गर्नुपर्यो ।'- उनको भनाई छ।
स्थानीय तहमै मूल्य धेरै भएकोले व्यवसायीहरु खरिद गर्न डराए । जसले गर्दा केही किसानहरुले आफैँ बिक्री गर्न ल्याएका थिए । मूल्य घटाए बिक्री गर्दा व्यवसायीहरुले प्रति च्याङग्रामा ५ हजारसम्म घाटा खाएको उनले बताए। यो च्याङग्रा चाडैँ बिक्री भए तिहारको लागि नयाँ २ सय वटा च्याङग्रा ल्याउने तयारी भएको उनले जानकारी दिए। उक्त च्याङग्रा हालको मूल्य भन्दा पनि सस्तो पर्ने देखिन्छ।