काठमाडौं। ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासनकोलागि बुक क्लोज गर्ने जनाएको छ।
संस्थाको गत कार्तिकमा सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
संस्थाको असार ८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्कासन सम्बन्धी प्रस्ताव अनुसार साउन एक गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार ३१ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्ने छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको चुक्ता पूँजी ११ करोड रुपैयाँ छ। चार करोड आठ लाख रुपैयाँ संस्थाले नाफा गरेको छ।
हकप्रद निष्कानसन गरेपछि संस्थाको चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने छ। गत वर्ष संस्थाले एक करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो।
उक्त नाफाबाट संस्थाले १५ प्रतिशत बोनस शेयर लाभांश दिएको थियो।