नयाँ दिल्ली। भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विद्युतको शुल्कमा कटौतीको घोषणा गरेका छन्।
बुधबार विधान सभाको बैठकलाई सम्बोधन गर्दै विद्युतको शुल्कमा कटौतीको घोषणा गरेका हुन्। घरायसी प्रयोग तथा घरेलु उद्योगमा खपत हुने विद्युतको मारबाट खासगरी राज्यका ग्रामिण जनतालाई लाभ दिने उद्देश्यले गरिएको निर्णय प्रति महिना ५०० यूनिट खपत गर्ने नागरिकका लागि मात्र लागु हुनेछ ।
पछिल्लो घोषणा अनुसार राज्य सरकारले ५० यूनिट, २०० यूनिट र ५०० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि राहत दिने योजनाअनुसार क्रमशः दुई रूपैयाँ, साढे दुई रूपैयाँ र चार रूपैयाँ उनान्सत्तरी प्रति यूनिटका दरले आगामी महिनादेखि शुल्क लाग्ने घोषणा गरिएको छ ।
घोषणा गरिएको शुल्क निर्धारणबाट राज्यमाथि प्रतिबर्ष ६ अर्ब ७७ करोड भारतीय रूपैयाँ भार बढ्ने बताइएको छ ।मुख्यमन्त्रीले आफ्नो दलले निर्वाचनका समय गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न ऐतिहासिक निर्णय लिएको बताए । यसबाट ४१ लाख ५३ हजार ग्रामिण क्षेत्रका ग्राहकले राहत पाउनेछन् ।
सरकारको पछिल्लो घोषणाबाट २०० यूनिटसम्म बिजुली प्रयोग गर्ने परिवारमा प्रति महिना ४३७ भारतीय रूपैयाँ बचत गर्नेछन् जुन पहिलेको शुल्कभन्दा ४६.६ प्रतिशत कमी भएको मुख्यमन्त्रीको दावी छ ।