काठमाडौं। सेयर बजारमा अर्को उत्पादनमूलक उद्योग थपिने भएको छ। अर्घाखाँची सिमेन्ट पनि सेयर बजारमा थपिन लागेको हो।
यसअघि चार वटा सिमेन्ट कम्पनीले आइपीओ जारी गरिसकेका छन्। शिवम्, घोराही, सोनापुर मिनरल्स र सर्वोत्तम हुँदै अब अर्घाखाँची सिमेन्ट सेयर बजारमा आउन लागेको हो।
कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
दुई कम्पनीबीच सोमबार यससम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी यथासम्भव छिटो निष्कासन प्रक्रिया अगाडि बढाइने पौडेलले बताए।
भारतीय लगानीको तत्कालीन डाइनेस्टी सिमेन्टलाई लिएर नेपालका अग्रणी व्यवसायीले ९ वर्षअघि स्थापना गरेको कम्पनीसँग वार्षिक १० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
अर्घाखाँची सिमेन्टमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, केडिया ग्रुपका मनोज केडिया, राजेशकुमार अग्रवाल, जगदिशकुमार अग्रवाल लगायतको लगानी छ। कम्पनीमा अहिले जगदिश अध्यक्ष तथा राजेश प्रबन्ध निर्देशकको भूमिकामा छन्।
हाइटेक प्लान्ट जडान गरेको कम्पनीले सिमेन्ट उत्पादनका साथै अरु सिमेन्ट उद्योगलाई क्लिंकरसमेत बिक्री गर्दै आएको छ। कम्पनीले डेढ वर्षदेखि आफ्नो उत्पादन भारतमा समेत निर्यात गर्दै आएको छ।