सेज ऐन संशोधनका लागि दबाब दिँदै मोरङका व्यवसायी, प्रधानमन्त्रीसँग छलफल गर्दै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ साउन १ गते ११:२० | Jul 17, 2018


                                                             भैरहवा सेज
विराटनगर।मोरङका व्यवसायीले विशेष आर्थिक क्षेत्र (सेज)को एजेन्डालाई परिमार्जन गर्ने र सेजका सट्टामा औद्योगिक ग्रामको माग गर्ने भएका छन् ।
भैरहवाको सेजको अवस्था देखेर व्यवसायीले पूर्वमा सेजको एजेन्डा परिवर्तन गर्न लागेका हुन् ।

Tata
GBIME
Nepal Life

‘सेज भन्नेबित्तिकै त्यहाँ ७५ प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योग स्थापना गर्नुपर्ने हुन्छ’, मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् पूर्व सांसद् पवन शारडाले भने, ‘यस्ता प्रकारका उद्योग स्थापना गर्ने सम्भावना तत्काल छैन । अर्कातिर जमिन महँगो भएर व्यवसायीले उद्योग खोल्ने हिम्मत गरिरहेका छैनन् । त्यसैले अब विशेष आर्थिक क्षेत्रका ठाउँमा औद्योगिक ग्रामको स्थापना गर्नुपर्छ । भैरहवाको सेजको अवस्था हामी हेरिरहेका छौँ ।’उनले साना उद्योग खोल्न जमीन महँगो भइसकेको बताउँदै सहुलियत मूल्यमा जमीन पाएमा धेरै लगानी आउने बताए।

‘७५ प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्देश्यले सेजमा उद्योग खोल्ने हो भने हामीले वैदेशिक लगानी र त्यसमा पनि भारतीय लगानी भित्र्याउनै पर्ने हुन्छ किनकि हाम्रो मुख्य र नजिकको बजार भारत नै हो’, उनको भनाइ थियो, ‘तर भन्नेबित्तिकै संयुक्त साझेदारीका लागि भारतीय व्यवसायी आउँदैनन् । यसका लागि बृहत् तयारी गर्नुपर्ने हुन्छ । फेरि हरेक वस्तुको उत्पादनका लागि वैदेशिक लगानी नै भित्र्याउने हो भने स्वदेशी लगानीकर्ता छायाँमा पर्नेछन् । स्वदेशी लगानीकर्ताले नसकेका ठाउँमा मात्र वैदेशिक लगानी चाहिन्छ ।’

सरकारले सेजका स्थानमा औद्योगिक ग्रामको स्थापना गरेर त्यहाँ सबै प्रकारका उद्योग स्थापना गर्न दिइनुपर्ने शारडको धारणा छ ।

प्रधानमन्त्रीलाई भेट्दै
विशेष आर्थिक क्षेत्रका ठाउँमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारलाई आग्रह गर्न मोरङ व्यवसायीको प्रतिनिधि मण्डल प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाने तयारी भइरहेको शारडाले जानकारी दिए ।

‘अहिलेसम्म हामी असार मसान्त र उद्योग सङ्गठन मोरङको निर्वाचनका कारणले अल्झिएका थियौँ’, अध्यक्ष शारडाले भने, ‘अब उद्योग सङ्गठनमा पनि भीम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति आइसकेको छ । यही साउन महिनाभित्र हामी प्रधानमन्त्रीलाई भेट्न जानेछौँ ।’

गत जेठ २६ मा विराटनगर आएका प्रधानमन्त्री ओलीले व्यापार सङ्घ र उद्योग सङ्गठनको संयुक्त प्रतिनिधि मण्डललाई व्यावसायिक मुद्दामा छलफल गर्न राजधानी बोलाएका थिए ।शारडाका अनुसार सङ्घ र सङ्गठन मिलेर पहिले साझा धारणाका साथ संयुक्त ज्ञापन पत्र तयार गर्नेछन् । विशेष आर्थिक क्षेत्रका स्थानमा औद्योगिक ग्रामको स्थापना गर्ने एजेन्डामा उद्योग सङ्गठन पनि सहमत हुने विश्वास उनले व्यक्त गरे ।

सुनसरीको अमडुवामा बनाउने भनिएको विशेष आर्थिक क्षेत्रको जग्गा खरिद गर्न गत वर्ष नै अर्थ मन्त्रालयले ८१ करोड र जमिन पास गर्न छुट्टै ७ करोड छुट्याएको थियो । तर हालसम्म जग्गा खरिद प्रक्रिया अघि बढेको छैन ।तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त रकम छुट्याएका थिए ।

सेज निर्माण गर्न अमडुवामा साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ३ सय ११ बिघा जग्गामा सरकारले सम्भाव्यता अध्ययन गरिसकेको छ । साथै उक्त जग्गाको मूल्य ८१ करोड तोकेको छ । तर ३ वर्षदेखि उक्त रकमको फाइल अर्थ मन्त्रालयमै थन्किएका कारण निकासा हुन नसकेको हो ।