कोरलाबाट फर्केपछि रायाले भने, पूर्वाधार विकास गर्ने हो भने दुई वर्षभित्र नाका सञ्चालन हुन्छ

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ २९ गते १७:५६ | Jun 12, 2018
कोरलाबाट फर्केपछि रायाले भने, पूर्वाधार विकास गर्ने हो भने दुई वर्षभित्र नाका सञ्चालन हुन्छ

Tata
GBIME
Nepal Life

विराटनगर। नेपाल र तिब्बत जोड्ने नाका आगामी दुई वर्षभित्र सञ्चालन गर्न सकिने देखिएको छ। भन्सार विभागका महानिर्देशक तोयम रायासहितको ३ सदस्यीय टोली कोरला क्षेत्रको चार दिने भ्रमण गरी दुई वर्षभित्र नाका सञ्चालन गर्न सकिने निश्कर्ष निकालेको हो।
 

महानिर्देशक रायाले सडक, पुल लगायतका पूर्वाधार निर्धारित समयमा तयार हुने हो भने २ वर्षभित्र कोरला नाका सञ्चालन गर्न सकिने जानकारी दिए। उनले अहिले पनि त्यहाँ छोटी भन्सार रहेको तर वर्षमा २ पटकका लागि मात्र खुल्ने गरेको बताए।
 
‘नाकाबाट नजिकै पर्ने सीमापारि तिब्बतको एक ठाउँमा वर्षको दुई पटक मेला लाग्दो रहेछ, एकपटक असार र अर्को भदौमा,’ उनले भने, ‘यही मेलाको अवसर पारेर चिनको सीमावर्ती क्षेत्रका स्थानीय अधिकारीले नेपालको स्थानीय प्रशासनसित छलफल गरेर नाका खोलिँदो रहेछ। तिब्बतको मेला भर्न जाने नेपालीको सङ्ख्या उल्लेख्य हुँदो रहेछ।’
 
हाल कोरला नाकाबाट २३ किलोमिटर तल छोसारमा छोटी भन्सार सञ्चालनमा रहेको उनले बताए। छोसारमा क्वारेन्टाइन कार्यालय र प्रहरीको कार्यालय पनि छ।
 
‘छोसार भन्सारभन्दा माथि मानव बस्ती छैन,’ रायाले भने, ‘छोसार समुद्री सतहबाट ३ हजार ९ सय र कोरला नाका ४ हजार ६ सय २० मिटरको उचाइमा छ। उच्च हिमाली क्षेत्र भए पनि कोरलामा डाँडाकाँडा छैनन्। तराईजस्तै भूभाग छ। त्यसैले पूर्वाधार निर्माण गरेर नाका सञ्चालन गर्न सहज देखिन्छ।’
 
कोरला नाका सञ्चालनपछि म्याग्दी, कास्की, मुस्ताङ, बाग्लुङ, पर्बत, स्याङ्जालगायतका क्षेत्रमा चिनियाँ सामान पैठारी गर्न छिटो र सस्तो पर्छ। 
हाल यो क्षेत्रमा चिनियाँ मालसामान पुर्याउन वीरगञ्ज वा रसुवा नाकाबाट भित्र्याउनु परिरहेको छ। रसुवा नाकाबाट पैठारी गरिएका चिनियाँ सामान काठमाडौं हुँदै र वीरगञ्जबाट पैठारी गरिएका सामान नारायणघाट पोखरा हुँदै पुर्याउनु परिरहेको छ।
 
कोरला नाका सञ्चालन भएपछि यी क्षेत्रमा चिनबाहेक अन्यत्रबाट आयातीत सामग्रीसितको परनिर्भरता पनि घट्ने छ। साथै तत्कालीन धौलागिरि अञ्चल व्यापारिक केन्द्र बन्न सक्ने तथा यस क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले छलाङ मार्न सक्ने विश्वास गरिएको छ।
 
म्याग्दीको सदरमुकाम बेनीबाट २२१ किलोमिटर उत्तरमा पर्ने कोरला नाकालाई चिनसित व्यापारिक सम्बन्ध कायम गर्न सबैभन्दा पायक र सहज नाकाका रूपमा लिइन्छ।
 
यसका लागि बेनी–जोसोम–कोरला २२१ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। यस खण्डमा भएका दुई बेलिब्रिजलाई हटाएर पक्की पुल निर्माण गर्न लागिएको छ। नाका सञ्चालनका लागि यस मार्गमा पर्ने १४ वटा खोलामा पक्की पुल बनाउनुपर्ने हुन्छ।
 
नाका सञ्चालन गर्न कोरलामा पनि भन्सार कार्यालयको भवन, यार्ड, गोदाम, कर्मचारी आवास, क्वारेन्टाइन कार्यालय, बैङ्क, प्रहरी कार्यालय लगायतका पूर्वाधार स्थापना गर्नुपर्ने हुन्छ। यसका लागि जग्गा व्यवस्थापन गरी एकीकृत कार्यालय खोल्नुपर्ने रायाले जानकारी दिए। 
 
निर्माण सामग्री पोखरा वा बेनीबाट लैजानुपर्ने हुँदा पूर्वाधार निर्माण गर्न २ वर्षको समय लाग्ने सरकारी अनुमान छ।
 
महानिर्देशक रायाका अनुसार बेनीदेखि कोरलासम्मको बाटो र पुल पक्की बनाइएपछि नाका सञ्चालन र आर्थिक विकासका साथ धार्मिक र उच्च हिमाली पर्यटनको ढोका पनि खुल्छ।
 
‘यही बाटो मुक्तिनाथ सजिलै जान र मुक्तिनाथ हुँदै मानसरोबरको यात्रा गर्न सकिन्छ,’ रायाले भने, ‘अहिले मानसरोबर जाने यात्रु रसुवाबाट गइरहेका छन्। यसो गर्दा मुक्तिनाथ पुगिन्न। तर यो बाटो बनेपछि मुक्तिनाथ र मानसरोबरसम्मको यात्रा एउटै बाटाबाट तय गर्न सकिन्छ।’ 
 
आफू कोरला नाका जाँदा पनि भारतीय पर्यटक प्रशस्त भेटेको उल्लेख गर्दै उनले दैनिक ३ देखि ५ सयको संख्यामा भारतीय पर्यटक मुक्तिनाथ जाने गरेको बताए। ‘बाटो बनेपछि पर्यटकको सङ्ख्या प्रशस्त बढ्ने र पर्यटकलाई मानसरोबरसम्मै पुर्याउन सकिने हुन्छ,’ उनले भने।