गाडीमा कर किन बढ्यो? अर्थमन्त्री खतिवडाले भने- गाडीको भन्सार बढेको छैन, बरु घटेको छ

बिजमाण्डू
२०७५ असार २५ गते १४:१८ | Jul 9, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।अर्थमन्त्री डा युवराज खतिवडाले विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य भएपछि नेपालले अनावश्यक रुपमा भन्सारका दर घटाउनु परेको बताएका छन्।

उनले डब्लुटिओको सदस्य भइसकेपछि बाध्यताले दर घटाउनु परेको भए पनि त्यसलाई व्यवस्थित गर्न अन्तशुल्कको औजार प्रयोग गरिएको प्रष्टीकरण दिए।राष्ट्रिय सभाको बैठमा खतिवडाले विगतमा बाध्यताले डब्लुटिओको प्रावधान अनुसार सवारी साधनको भन्सार दर पनि घटेको भन्दै सरकारले अन्तशुल्कबाट त्यसलाई 'मेकअप' गरिरहेको बताए।

'धान्नै नसक्ने व्यापार घाटा नियन्त्रण गर्न भन्सार बढाउन नसक्ने ठाउँमा अन्तशुल्क बढाइएको हो,' उनले भने, 'व्यापार घाटा व्यवस्थित नभएसम्म भन्सार घटाउन सकिँदैन। अहिले भन्सार दर बढाइएका छैनन्, नघटाइएको मात्रै हो। हामी यस विषयमा हाम्रा तर्कहरु विश्व व्यापार संगठनमा पनि राख्छौँ।'

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सवारी साधनमा सीसी अनुसार अन्तशुल्क बढाएको छ।वाइक र गाडीमा जति बढी सीसी उति बढी अन्तशुल्क तिर्नुपर्ने प्रावधान ल्याइएको छ।यो आधारमा १ सय ५० सीसी भन्दा बढी र हजार सीसी भन्दा बढीका गाडीको अन्तशुल्क बढेको छ।अन्तशुल्कका कारण महँगा मर्सिडिज बेञ्ज,जागुअर,रेन्ज रोभर लगायतको गाडी बिक्री बन्द हुने अवस्थामा पुगेको छ भने पहाडी इलाकामा चल्ने महिन्द्राको बोलेरो र टाटाको सुमो गाडी महँगिएर प्रभावित भएको छ।

 डब्लुटिओको विषय कसरी उठ्यो?
राष्ट्रिय सभामा डब्लुटिओले नेपालले सवारी साधनमा भन्सार दर बढाएको भन्दै पत्र पठाएको विषयमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अर्थमन्त्री खतिवडासँग जवाफ मागे।

जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले गाडीमा भन्सार नबढाएको बरु भन्सार कम भएर अन्तशुल्क बढाएको जवाफ दिए।वाणिज्य मन्त्रालयका अनुसार भन्सार दर घटबढ बारेमा डब्लुटिओ आफैले कुनै पत्र पठाउँदैन।डब्लुटिओको कुनै सदस्य राष्ट्रले उजुरी गरे मात्रै त्यस बारेमा छलफल हुन्छ।अहिलेसम्म सवारी साधनको भन्सारका बारेमा कुनै सदस्य राष्ट्रले उजुरी गरेको छैन।

‘गाडीको भन्सार बढेको बारेमा डब्लुटिओले पत्र पठाउने होइन।कुनै सदस्य राष्ट्रले उजुरी गरेपछि मात्रै त्यसमा छलफल हुने हो’वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भने,’गाडीमा भन्सार बढेको छैन।अन्तशुल्क मात्रै बढेको हो।’

उनका अनुसार हरेक ६ वर्षमा डब्लुटिओ अन्तर्गत व्यापार नीति संशोधनका लागि छलफल हुन्छ।’डब्लुटिओमा ५२ सय वस्तुमा घटबढ गर्ने प्रतिवद्धता हामीले गरेका थियौं’उनले भने,त्यो छलफलमा क्षेत्रगत विश्लेषण हुन्छ।त्यसमा पनि डब्लुटिओले आफै मुद्दा उठाउने भन्ने हुँदैन।कुनै मुलुकले नेपालमा सामान निकासी गर्न कठिनार्इ भयो भनेर मुद्दा उठाउन सक्छ।तर अहिलेसम्म गाडीका बारेमा कुनै उजुरी हालेको जानकारी हामीले पाएका छैनौ।‘

ज्ञवालीका अनुसार केही समय पहिला काठमा निकासी शुल्क बढी भयो भनेर कुनै राष्ट्रले उजुरी हालेको रहेछ।‘यो उजुरीमा हामीले पर्यावरणका लागि ४० प्रतिशत वन पुर्याउने लक्ष्य राखेर बढी शुल्क तोकेका हौं भन्ने जवाफ दिएका थियौ’उनले भने।