राजस्व कार्यालयले ६८ जनाको बैंक खाता र घरजग्गा रोक्का, कारबाहीमा पर्ने भन्छन्–’एक पटक समय पाऊँ’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ भदौ २९ गते १५:२६ | Sep 15, 2019

Tata
GBIME
Nepal Life

विराटनगर।आन्तरिक राजस्व कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०७५/०७६ मा ६८ करदाताको घरजग्गा र बैङ्क खाता रोक्का गरेको छ।

घरजग्गा र बैङ्कखाता रोक्का गरिएका करदाताको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै कार्यालयले उनीहरूबाट २५ करोड बक्यौता रहेको जनाएको छ।कार्यालय प्रमुख दिलीप गौतमका अनुसार कर बाँकी राख्ने करदातालाई कार्यालयले तीन चरणको सामान्य कारबाहीपछि मात्र घरजग्गा र बैङ्क खाता रोक्ने कार्य गर्छ।

‘पहिलो चरणमा करदातालाई कर बाँकी रहेकाले पत्रमार्फत् तिर्न जानकारी गराइन्छ’, प्रमुख गौतमले भने, ‘दोस्रो चरणमा टेलिफोनबाट कर तिर्न आउन सम्झना गराइन्छ । टेलिफोनबाट नसम्झने करदातालाई तेस्रो चरणमा १५ दिनको म्यादसहितको पुर्जी काटेर पठाइन्छ । यो पत्रलाई अटेर गरेमा फेरि ७ दिनको म्याद सहितको पत्र पठाइन्छ ।’उनका अनुसार सात दिनको पत्रलाई अटेर गर्ने करदाताको बैक खाता र घरजग्गा रोक्का हन्छ।

उनले भने ‘सात दिनको पत्रलाई पनि अटेर गर्ने करदाताको बैङ्कखाता र घरजग्गा रोक्का हुन्छ। नेपाल राष्ट्र बैङ्कमार्फत् विभिन्न वाणिज्य बैङ्क र विकास बैङ्कमा खाता खोजी गरेर रोक्का गरिन्छ । त्यस्तै देशभरिका मालपोत कार्यालयमा पत्राचार गरेर घरजग्गा रोक्का गरिन्छ।’
यस्ता करदाताको नाममा आयात–निर्यात व्यापार पनि रोक्का गरिने गौतमले जानकारी दिए । यसका लागि भन्सार विभागसँग समन्वय गरिने उनले बताए। गतआवमा घरजग्गा र बैङ्कखाता रोक्का गरिएका ६८ जनाकै नाममा आयातनिर्यात व्यापार पनि बन्द गरिएको उनको कथन छ।

कर बाँकीमा परेका व्यवसायीले एक पटकलाई साउँ तिर्न दिएर बाँकी ब्याज माफ गरिदिनुपर्ने आग्रह गर्दै आएका छन्।विराटनगरमा आफ्ना पिताले हिमालय बिँडी उद्योग चलाएर २०३७ सालमा बन्द गरेको उल्लेख गर्दै सप्तरीका विश्वेश्वर महतोले भने, ‘२०३८ सालमा हामीले अन्तःशुल्कबापत तिर्नुपर्ने रकम १ लाख ६५ हजार थियो, अहिले बढेर १६ लाखपुगेको छ।

आन्तरिक राजस्वले हामीलाई १६ लाखतिर्न सूचना गरेको छ। करमा चक्रवर्ती ब्याज लगाइएको छ। यसबाट व्यवसायीलाई एक पटक राहत दिइनु पर्छ। एक पटक साउँ रकमतिरे बाँकी सम्पूर्ण रकम मिनाहा गरिने नीति ल्याउनु पर्छ। त्यसपछि मात्रै घरजग्गा र बैङ्क खाता रोक्काको प्रक्रियामा जानु उचित हुन्छ ।’