मेलम्चीको बाँकी कामको ठेक्का सिनो हाइड्रोले पायो, एडीबीको स्वीकृतिपछि सम्झौंता गर्न पत्र

बिजमाण्डू
२०७६ भदौ ३ गते १७:३४ | Aug 20, 2019
मेलम्चीको बाँकी कामको ठेक्का सिनो हाइड्रोले पायो, एडीबीको स्वीकृतिपछि सम्झौंता गर्न पत्र

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनीले पाएको छ।

मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार ऋणदाता एसियाली विकास बैक(एडीबी)ले चिनियाँ कम्पनीलाई दिन स्वीकृति दिएसंगै सम्झौंताका लागि बोलाईएको हो। सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोले पाएको हो।

आयोजनाको मुल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो। करिव एक साता अध्ययन गरेर १२ अगष्टमा एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो। आयोजनाले  १३ अगष्टमा आयोजनाले निकालेको ठेक्कामा निर्माण व्यवसायी छनोट चित्त नबुझेमा सात दिन भित्र दाबी/ विरोध अथवा उजुरी गर्न भन्दै सातदिने  सार्वजनिक सूचना निकालेको थियो। सोमबारसम्मका लागि दाबी विरोध र उजुरी समय तोकिएको थियो। कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि वोलाएको हो।

वोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने हुन्छ। आयोजनाले भने जतिसक्दो छिटो प्रकृया सकेर आउन आग्रह गरेको पन्तले जानकारी दिए। चिनियाँ कम्पनी आएपछि उसको बैक ग्यारेण्टी भेरिफिकेशन गरिने उनले बताए। सम्झौता भएको एक महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ। तामाकोशी हाईड्रोपावरको काम सकेर मेसिनरी र जनशक्ति सहित तयार अवस्थामा रहेकाले छिट्टै काम सुरु हुने विश्वास गरिएको छ। आयोजनाले दशैं अघिनै काम सुरु गराउने तयारी गरेको छ।

चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो/ रमण जेभीले आयोजनाका काम  गर्न इच्छा देखाएका थिए। चिनियाँ कम्पनीले कम कवोल गरेपछि सिनोले ठेक्का पाएको हो।आयोजनाका अनुसार चिनियाँ कम्पनीले इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा कममा ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै थप बढी मुल्य राखेर आर्थिक प्रस्ताव हालेको थियो। सार्वजनिक खरिद नियमावली अनुसार कम कवोल गर्ने चिनियाँ कम्पनीले ठेक्का पाएको हो। हेडवर्क्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ इस्टिमेट गरिएको छ।