शेयर बजारमा चार दिनपछि एकाएक आयो चमक, साढे सात अंकको सुधार, सिद्धार्थ बैंकको धेरै कारोबार

बिजमाण्डू
२०७६ भदौ २ गते १५:४३ | Aug 19, 2019
शेयर बजारमा चार दिनपछि एकाएक आयो चमक, साढे सात अंकको सुधार, सिद्धार्थ बैंकको धेरै कारोबार

Tata
GBIME
Nepal Life

काठमाडौं।गत चार दिन देखि लगातार घटेको शेयर बजार सोमबार बढेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ७.२३ अंकले बढेर १२२२.०६ अंकमा उक्लिएको छ।

गत चार कारोबार दिनमा सूचक १९.०१ अंकले घटेको थियो।कारोबार मापक सूचक सँगै कारोबार रकम समेत बढेको छ।सोमबार १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो।१४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको हो।आइतबार कारोबार रकम ३१ करोड रुपैयाँमा खुम्चिएको थियो।

सोमबार सबैभन्दा बढी सिद्धार्थ बैकको संस्थापक शेयरको कारोबार भयो। बैंकको दुई करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी दोस्रो भएको छ। उसको मात्रै दुई करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

सोमबार शेयर कारोबार सामान्य देखिएको थियो। पहिलो घण्टा पछि बजार विस्तारै बढ्दै गएको हो। एक बजे सम्ममा बजारले १५ अंकले बढेर १२२९ अंक भेट्टाएको थियो। तर यो वृद्धि टिकाउ हुन सकेन। अन्तिममा सूचक सात अङ्कको वृद्धिमै बन्द भएको छ।नेप्सेको उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा १० समूहको सूचक बढेको छ भने निर्जीवन बिमा समूहको सूचक ०.६१ अङ्कले घटेको छ।

सोमबार लगानीकर्ता लघुवित्त कम्पनीको शेयरमा झुम्मिएका थिए। १० धेरै कमाउने कम्पनीको सूचीमा सात कम्पनी लघुवित्तका परेका छन्।सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाको करिब आठ प्रतिशत मूल्य बढेको छ।