सामान्य सुधारले नेप्से सूचक १२६० मा उक्लियो, मूल्य बढेका १० कम्पनीमध्ये आठ लघुबित्त

बिजमाण्डू
२०७६ असार ९ गते १५:४९ | Jun 24, 2019


काठमाडौं। सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। पछिल्लो कारोबार दिनहरूमा सुस्ताएको शेयर बजारमा सोमबार ५.७५ अङ्कको बढोत्तरी भएको छ।

Tata
GBIME
Nepal Life

बजारले सामान्य उतारचढावकाबीच झिनो अङ्कको वृद्धि कायम गर्दा लगानीकर्ताले राहत महसुस गरेका छन्। सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १२६०.१० अंकमा उक्लिएको छ।

कारोबारको सुरुमै सामान्य अङ्कले बढेको बजार १० मिनेट पछि भने रातो भएको थियो।पौने दुई बजेसम्म रातो देखिएको बजार त्यसपछि सूधारोन्मुख देखिएको थियो।अन्तिम सवा एक घण्टामा बजारले लिएको सुधारले सूचक बढेर बन्द भएको हो।

सोमबारको कारोबारमा लघुबित्तका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बढ्ने कम्पनीहरूको सूचीका लघुबित्त कम्पनीहरू धेरै  छन्।

सोमबार सबैभन्दाबढी शेयर मूल्य  बढेको १० कम्पनीको सूचीमा आठ कम्पनी लघुबित्तका छन्। फाइनान्स र जलविद्युत कम्पनीहरूमा लगानीकर्ताले रुची नदेखाउँदा उनीहरू घट्दो सूचीमा धेरै छन्।      

बजेटपछि शेयर बजारमा ठूलै परिवर्तन आउने अपेक्षा गरेका लगानीकर्ताले त्यस अनुरूप बजार नबढेपछि उनीहरू लगानी गर्न हच्चकिएका थिए। उनीहरूले सोमबारको वृद्धिलाई सामान्य रूपमा लिएका छन्।बजारको अवस्था सन्तोषजनक नहुँदा ब्रोकर कार्यालयहरूमा उनीहरूको उपस्थिति समेत घट्दै गएको छ।  

सोमबार १७३ कम्पनीका १५ लाख चार हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भयो। ४८ करोड १४ लाख रुपैयाँको कारोबारमा शिवम् सिमेन्टको कारोबार सबैभन्दा बढी भयो। शिवम्को पाँच करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। चिलिमे हाइड्रो पावरको कम्पनीले दुई करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा सात समूहका उपसूचक बढेका छन् भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दाबढी होटेल समूहमा १.२९ प्रतिशतको बृ्द्धि देखिएको छ भने सामूहिक लगानीकोषको उपसूचक ०.२८ अङ्कले घटेको छ।

सोमबार  जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए भने गुमाउने कम्पनीको सूचीमा मल्टिप्रपोज फाइनान्स अग्र स्थानमा छ। उसका शेयरधनीले ९.६० प्रतिशत गुमाएका छन्।