टंगालमा तीन तारे स्तरको बुटिक होटल निर्माण शुरु, ७२ करोड रुपैयाँ ऋण लगानीको लागी रेटिङ

बिजमाण्डू
२०७६ असार ९ गते ११:१८ | Jun 24, 2019
टंगालमा तीन तारे स्तरको बुटिक होटल निर्माण शुरु, ७२ करोड रुपैयाँ ऋण लगानीको लागी रेटिङ

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंको टंगालमा मध्यमस्तरको होटल संचालन गरिरहेको स्वर्णिम बुटिक होटलले तीन तारे स्तरको बुटिक होटल निर्माण शुरु गरेको छ।

नेवारी वास्तुकला र संस्कृति झल्काउने गरी इन्टेरियर गरिएको टंगालमा अवस्थित २० वटा कोठासहितको होटलसँगै नयाँ होटलको भवन निर्माण शुरु गरिएको हो।व्यवसायी नरेशलाल श्रेष्ठ अध्यक्ष रहेको स्वर्णिम बुटिक होटल संचालनमा आएको तीनवर्षपछि अहिले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा तीन तारे स्तरको प्रिमियम बुटिक होटल निर्माण शुरु गरिएको हो।

होटललाई अन्तर्राष्ट्रिय होटलको संजालसँग जोड्न र स्तरीय आतिथ्यता सेवा प्रदान गर्नको लागी इन्टर कन्टिनेन्टल होटल ग्रुप(आइएचजी)सँग होटल व्यवस्थापनको लागी सम्झौता गरेको छ। बुटिक होटलको व्यवस्थापकीय तहको कर्मचारी नियुक्त गर्ने र व्यवस्थापनको जिम्मेवारी आइएचजीले नै सम्हाल्नेछ।

आइएचजीले यो होटलको प्रवद्र्धन र बजारीकरणको लागी आफ्नो होटल इन एक्सप्रेस ब्राण्डमा संचालित होटलको संजालमा जोड्ने समझदारी भएको ऋणको जोखिम मूल्यांकनकर्ता कम्पनी केयर रेटिङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आइएचजीसँग व्यवस्थापन साझेदारीवापत स्वर्णिमले इजाजत शुल्क, प्राविधिक सेवा शुल्क, प्रोत्साहन व्यवस्थापन शुल्क, प्रणाली कोष योगदान र अन्य विविध शुल्क लिनेछ।
सन् २०१८ को अन्त्यसम्ममा आइएचजीको संजाल अन्तर्गत २ हजार ७२६ होटलमा कुल २ लाख ७९ हजार कोठा छन् ।

बैंक ऋणमा मध्यमस्तरको जोखिम

गत चैतसम्ममा होटलको लागी जग्गा खरिदसहित ३१ करोड ६० लाख रुपैयाँ लगानी गरिएको यो होटल सन् २०२२ को प्रारम्भमा संचालनमा ल्याइसक्ने उद्योग व्यवस्थापनको अपेक्षा छ।

होटल निर्माणको लागी आवश्यक लगानी योग्य पूँजी जुटाउन ७२ करोड ५० लाख रुपैयाँ बैंक ऋणको जोखिम मूल्यांकन गराएकोमा ‘केयर एनपि डबल बि’ श्रेणी पाएको छ। केयर रेटिङका अनुसार यो श्रेणीमा पर्ने परियोजनाहरु समयमै बैंक ऋण र ब्याज चुक्ता गर्ने दृष्टीकोणबाट मध्यम जोखिमको अवस्थामा हुन्छन्।

केयर रेटिङका अनुसार बैंक ऋण र ब्याज चुक्ता गर्नको लागी पर्याप्त नगद आप्रवाह भएपनि होटल संचालनमा आएको तेश्रो वर्षदेखि मात्र नाफा कमाउन सकिने होटल व्यवस्थापनको अनुमान छ ।

पर्यटन क्षेत्रमा वार्षिक २५ प्रतिशतको आकर्षक वृद्धि, सन् २०२० लाई पर्यटन वर्षको घोषणा र वाणिज्य बैंकलाई कुल लगानीको ५ प्रतिशत अनिवार्यरुपमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधानको कारण होटललगायतको पर्यटन व्यवसायको लागी उचित अवसर रहेको केयर रेटिङले उल्लेख गरेको छ। तर प्रत्येक त्रैमासिकमा बैंकको ब्याजदरमा हुने उतारचढावले बैंक ऋणमा अस्थिर ब्याजदरको जोखिम रहेको छ। बजारमा लगानी योग्य बचतको अभावसँगै पछिल्लो १२ महिनामा बैंक ब्याजदर उच्च र अस्थिर रहेको छ।